साझाले संचालनमा ल्यायो देशकै ठूलो चार्जिङ स्टेशन 

बुधबार, चैत २८, २०८०

ललितपुर  । साझा यातायातले विद्युतबाट चल्ने ठूला बस चार्ज गर्न मिल्ने देशकै ठूलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल्चोकस्थित साझा परिसरमा चार्जिङ स्टेशन उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महासेठले सार्वजनिक यातायातको विस्तारमा साझा यातायातलाई सरकारले भरोसा गरेको बताए । यस्तै, आगामी दिनमा साझाको सेवाप्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायात विगतदेखि नै समाजमा जनविश्वास जितेको संस्थाका रूपमा स्थापित भएको बताए । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं महानगरपालिकापछि ललितपुरले साझा यातायातमा धेरै लगानी गरेको जनाउँदै ललितपुरका भित्री शहरमा छिटै विद्युतीय बससेवा विस्तार गर्ने योजना रहेको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीले हाल दिनको झन्डै दुई करोडको इन्धन खपतलाई प्रतिस्थापन गरेको बताए । ‘विद्युतीय सवारीमा रूपान्तरण हुन सक्दा सञ्चालन खर्च १० देखि १५ प्रतिशत जोगिन्छ,’ घिसिङले भने,‘३५ सयको पेट्रोलको काम १५० रुपैयाँको बिजुलीले दिइरहेको छ । यसरी हेर्दा सार्वजनिक सवारीलाई विद्युतमा रूपान्तरण गर्दा झन्डै पाँच खर्ब रुपैयाँ नै जोगिने देखिन्छ । ’saja-2h-1712720574.jpg

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले प्रदान गरेको तीन अर्ब रुपैयाँलाई तीन चरणमा खर्च गर्ने नीति अनुसार पहिलो चरणमा ४० वटा विद्युतीय बस र चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको बताए । उनले साझा परिसरमा भएका चार्जिङ स्टेशनमा २४ वटा चार्जिङ संयन्त्र रहेको जानकारी दिए । आगामी दिनमा थपिने बसका लागि साझासँग ठाउँ अभाव रहेको अवगत गराउँदै दीक्षितले थप चार्जिङ स्टेशन विस्तार गर्न काठमाडौं उपत्यकाका १८ पालिकाहरूसँग सहकार्य गर्न जुटेको बताए ।निजी क्षेत्रको सहभागिता विना नेपालमा सार्वजनिक यातायातको विस्तार हुन नसक्ने बताउँदै उनले सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सक्दा नागरिकको दैनिकी सहज हुनुका साथै सार्वजनिक यातायातको क्षेत्रमा कायापटल हुने बताए । ‘शुरूमा ठूलो लगानी लाग्ने विद्युतीय बस सेवा निजी क्षेत्र मार्फत विस्तार गर्न सरकारले वित्तीय सहजीकरण गर्नुपर्छ,’ उनले भने । दीक्षितले  साझासँग भएका दुई वटा बस पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिने पनि घोषणा गरे । साझाले हाल नौ मिटर लामो ५० यात्रु क्षमताको ७१ डिजल र ४० विद्युतीय गरी १११ बस सञ्चालन गरिरहेको छ । निकट भविष्यमै १२ मिटर लामो बस भित्राउने र ‘प्रान्तीय सेवा’ अन्तर्गत विगतमा जस्तै राजधानी र प्रदेशबीचको सेवा विस्तार गर्ने योजना राखेको पनि दीक्षितले बताए ।saja-3-1712720599.jpg


    
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार