तिलगंगा आँखा अस्पतालसँगको सहकार्य  नगरपालिकामै आँखा उपचार र शल्यक्रिया सेवा सुरु 

मंगलबार, चैत १३, २०८०

गोदावरी नगरपालिकाका वासिन्दाले नगरभित्रै आँखा उपचारसहितको शल्यक्रियाको सुविधा पाएका छन् । नगरपालिकाले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरी कुश्लेचौरस्थित वडा नंं.११ को आधारभूत स्वास्थ्य केन्द्रमा तिलगंगा सामुदायिक आँखा केन्द्र सुरु गरेको हो । 
सामुदायिक आँखा केन्द्रको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र तिलगंगा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.रिता गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भिजन हिमालयको आर्थिक सहयोगमा खोलिएको यो केन्द्र उद्घाटन भएको दिन (फागुन २१, २०८०)मा एक सय जनाले आँखाको शल्यक्रिया गराएका थिए । 
नगर प्रमुख गजेन्द्र महर्जनले बिरामीको संख्याका आधारमा शिल्यक्रियाको समय तोकिने बताउनुभयो । ‘हाललाई तीन महिना भनेका छौं, बिरामीको फ्लोका आधारमा शल्यक्रियाको समय निर्धारण गर्छौ । ’ नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै निरन्तर सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ छिमेकी पालिकाका बिरामीले समेत यो केन्द्रबाट सेवा लिन सक्नुहुन्छ , आँखाको उपचार गर्न टाढा जानु परेन अब ।’ उपप्रमुख मुना अधिकारीले आफ्नै घरदैलोमा आँखा उपचार मात्रै होइन, शल्यक्रियाको समेत सेवा दिन सक्नु नगरपालिकाले हासिल गरेको ठूलो उपलब्धि भएको बताउनुभयो ।  प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले स्वास्थ्य क्षेत्रलाई  नगरपालिकाले  विगतदेखि नै प्राथमिकतामा राखेको बताउँदै अव पनि बजेट अभाव हुन नदिने प्रष्ट पार्नुभयो । तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. रिता गुरुङले आँखाको स्वास्थ्यलाई नगरपालिकाले प्राथमिकतामा राखेकोमा धन्यवाद दिदैं खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष एवम वडा नं.१०का वडा अध्यक्ष शेखर न्यौपाने, वडा नं.११ का वडा अध्यक्ष निलबहादुर देशारले आँखा उपचार र शिल्यक्रियाको सेवालाई घरदैलोमै ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।
सामुदायिक आँखा केन्द्रमा नगरवासीले आँखा परीक्षण, शल्यक्रियाको सुविधा प्राप्त गर्नेछन् । यसैगरी केन्द्रमा चश्मा र औषधिपनि उपलब्ध छ । केन्द्र उद्घाटन अघि आधारभूत स्वास्थ्य केन्द्रको पनि उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार