आज देशभरको मौसम बदली हुने, शनिबारसम्म झरी पर्ने सम्भावना  

बिहीबार, चैत ८, २०८०

काठमाडौं । मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार सम्म काठमाडौं उपत्यकासहित कोशी,बागमती र मधेश प्रदेशको अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ । हाल काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ । 
आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने तथा बुधबार देखि शुरु भएको वर्षा नरोकिने पोखलेरले बताए । 
‘बुधबार सबैभन्दा धेरै वर्षा धनकुटामा मापन भएको छ । आज कोशी,बागमती र गण्डकीका अधिकांश स्थानमा वर्षा हुने देखिएको छ । कोशी र तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । पानी शनिबारसम्म नै पर्ने देखिन्छ,’ पोखरेलले भने । 
बुधबारबाट बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात समेत भएको छ । देशको पूर्वी तथा मध्य भागमा बढी पानी परेको महाशाखाले जनाएको छ । 
कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भए पनि पानी परेको छैन् ।
बुधबार सिन्धुलीको सानीबास भन्ने ठाउँमा २६.२ मिलिमिटर, मकवानपुर गढीमा १६.४ मिलिमिटर, ललितपुरको लेलेमा १६.२ मिलिमिटर, काठमाडौंको धाप ड्याम क्षेत्रमा ११.६ मिलिमिटर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ मिलिमिटर, बबरमहल क्षेत्रमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार गत २४ घण्टामा धनकुटामा सबैभन्दा धेरै ५२ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ भने शनिबार सम्म झरी पर्ने छ । 
बुधबारबाट शुरु भएको वर्षा ‘प्री मनसुन’ का रूपमा भएको हुनाले वर्षाले मधेर र पहाडक कृषकका बालीलाई राहत पुगेको छ । यस्तै, वर्षाले देशका विभिन्न क्षेत्रमा लागेका डडेलो नियन्त्रणमा पनि राहत पुर्याएको महाशाखाले जनाएको छ । 
बिहीबार देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली भई बागमती,गण्डकी,मधेश प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । 
आज कोशी प्रदेश र मधेश प्रदेश सहित तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा सहित हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
त्यस्तै, शुक्रबार देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार देशको पूर्वी तथा मध्य भू –भागमा आज र भोली निरन्तरजसो वर्षा हुने छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार