ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँदै महानगर

आइतबार, चैत ४, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ ।  विराटनगर महानगर वडा १ को आर्थिक सहयोगमा वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो ।  महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष काजीबहादुर बस्नेतले तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकहरूलाई आज विदाई गरे ।  वडाले ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चको संयोजनमा तीर्थयात्रामा लगेको वडाध्यक्ष बस्नेतले बताए । वडाले हरेक वर्ष ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लाने गरेको उनले जानकारी दिए ।  मौलाकाली, स्वर्गद्वारी, रिडी, लुम्बिनीलगायत विभिन्न धार्मिकस्थलको भ्रमणपछि ज्येष्ठ नागरिकको टोली एक हप्तामा विराटनगर फर्किने मञ्चका सचिव ईश्वर खतिवडाले जानकारी दिए ।  महानगरले तीर्थयात्रामा लगेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । भ्रमणमा सहभागी ज्येष्ठ नागरिक टीकाप्रसाद निरौलाले महानगरले अत्यन्तै राम्रो काम गरेको बताए । स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ५५ जनाको टोली भ्रमणमा गएको वडाध्यक्ष बस्नेतले बताए । उनका अनुसार वडाको २ लाख रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिकलाई भ्रमणमा लगेको हो । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार