कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया 

मंगलबार, फागुन २२, २०८०

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ ।  कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिरपाताको शल्यक्रिया गरिएको हो ।  रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो । भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । डा. मिलन केसीको नेतृत्वमा डा. नविन सुवेदी र डा= रोशन यादवसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सरदारको दुर्लभ तथा जटिल किसिमको शल्यक्रिया गरेको हो । 
डा. केसीले कोशी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया भएको दाबी गरे । ‘मलाई जानकारी भएअनुसार कोशी प्रदेशमा यसअघि यस्तो शल्यक्रिया कहिल्यै पनि भएको थिएन,’ डा. केसीले भने, ‘कोशी अस्पतालमा पनि जटिल किसिमको शल्यक्रिया गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’ 
कोशी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर आएको बिरामी सरदारले बताउनुभयो । पुराना र अनुभवी डाक्टरले अप्रेसन गर्छन् भनेर यहाँ आएको उहाँको भनाइ थियो ।
‘कोशीमा राम्रो उपचार हुन्छ भनेर सुनेर आएको हुँ । वास्तवमै धेरै राम्रो उपचार हुँदोरहेछ,’ सरदारले भने, ‘मैले विश्वास गरेअनुसार नै धेरै राम्रो रहेछ कोशी अस्पतालको उपचार सेवा ।’
सरदारको १८ दिनअघि रुखबाट लडेर देब्रेहातको पातोका सबै हड्डी भाँचिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार