ललितपुर महानगर २४ नं. वडाका १७६३ बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप (भिडियो)

मंगलबार, फागुन १५, २०८०

​ललितपुर । सरकारले आइतबारदेखि देशभर सुरु गरेको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० मा बालबालिकाको उत्साहजनक सहभागिता देखिएको छ । वडाका जनप्रतिनिधि, विद्यालय तथा अभिभावकहरूले खोपप्रति देखाएको सतर्कताकै कारण खोप अभियानमा बालबालिकाको उत्साहजनक सहभागिता देखिएको हो ।  सरकारले आइतबारदेखि दादुरा–रुबेला खोप अभियान देशैभर सञ्चालन गरिरहेको छ । सन् २०२६ सम्ममा यो रोग निवारण गर्ने तयारी स्वरुप सरकारले यो अभियान चलाएको हो ।  

khop-4-1708996429.jpg
दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु हुन् । तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई गत आइतबारदेखि खोप लगाउन थालिएको हो ।   यसै सन्दर्भमा हिजो सोमबार ललितपुर महानगरपालिका २४ नं. वडाका जलपा मावि, कल्याण मावि, बालोदय आधारभूत विद्यालय, सूर्योदय मावि तथा किड्स वण्डरल्याण्ड प्रिस्कुलस्थित खोप केन्द्रमा लक्षित बालबालिकालाई खोप लगाइएको छ । ती पाँचवटै केन्द्रहरूमा लक्षित बालबालिकालाई खोप लगाइएको वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । 

kho-kal-1708996448.jpg
खोप अभियानअन्तर्गत सोमबार वडामा खडा गरिएका पाँचवटा खोप केन्द्रमा १७६३ जना बालबालिकालाई खोप लगाइएको धापाखेल स्वास्थ्य चौकीका प्रमुख गुरुप्रसाद शर्माले शब्दपाटीलाई जानकारी दिनुभयो ।  ‘आज वडा नं. २४ का १७६३ जना बालबालिकालाई खोप लगाएका छौं । खोप लगाउन बाँकी बालकालिकालाई फागुन २३ गते स्वास्थ्य चौकीमा खोप लगाइनेछ’ वडाअध्यक्ष पाण्डेले भन्नुभयो । 
वडाअध्यक्ष दिनेशजंग पाण्डेले सबै खोप केन्द्ररूमा पुगेर निरीक्षण गर्नु भएको थियो भने महिला वडा सदस्य इन्द्रा श्रीशले कल्याण स्कुल तथा बालोदय आधारभूत विद्यालयको खोप केन्द्र, निशा मालबुलले जलपा माविको खोप केन्द्र, हरिकृष्ण महर्जनले सूर्योदय स्कुलको खोप केन्द्र एवम् उद्धव बस्नेतले किड्स वण्डरल्याण्ड प्रि स्कुलस्थित खोप केन्द्रको अनुगमन तथा सहजिकरण गर्नु भएको थियो । खोप अभियानमा विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी, समाजसेवीहरूले पनि सहजीकरण गरेका थिए । 

khop-2-1708996426.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार