विराटनगर महानगरमा फागुन १३ देखि दादुरा–रुबेला खोप अभियान 

बिहीबार, फागुन १०, २०८०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका क्षेत्रभित्र फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।  महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ ।  विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।  खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताए । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ । 

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिए । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताए ।  उनका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गरे । अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताए । 
कार्यक्रममा मेयर कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे । उनले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताए । नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार