गोदावरी नगरपालिकाको वडा नं. ६ मा एक घर एक धारा अवधारणा पूरा

अन्तर्राष्ट्रिय सहयोगमा घर घरमा स्वच्छ पानी आउने धारा जडान
बिहीबार, फागुन ३, २०८०

ललितपुर । गोदावरी नगरपालिकाका वडा नं ६ को एक सय ५१ घरधुरीमा स्वच्छ पानीसहितको धारा जडान गरिएको छ । गोदावरी नगरपालिका र कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा वाटर एड नेपालको प्राविधिक सहायतामा ती घरधुरीमा स्वच्छ खानेपानीसहितको धारा जडान गरिएको हो । ललितपुर क्षेत्र नं. १ का सासंद उदय शमशेर राणा, प्रदेश सासंद मिनकृष्ण महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ती धारासहित कालीटार दिगो खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत निर्माण गरिएका ट्याङकीको बिहीबार उद्घाटन गरे ।

pan-3-1708007398.png
यसअघि फैडोल खानेपानी आयोजनालगायतका आयोजनाबाट अन्य घरधुरीमा धारा जडान भइसकेको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले एक घर स्वच्छ पानीसहितको एक धारा अवधारणा पुरा गर्ने गोदावरी नगरपालिका संभवत पहिलो स्थानीय तह भएको बताए । उनले भने, ‘यो वडाको ९९ प्रतिशत भन्दा धेरै घरमा स्वच्छ पानी सहितको धारा पुगेको छ, यो हाम्रो जस्तो नयाँ, दुर्गम वडा धेरै भएको नगरपालिकाको लागि ठूलो उपलब्धि हो ।’ उनले गोदावरी नगरपालिकामा अन्तर्राष्ट्रिय संस्थाबाट भएको यो पहिलो र उदाहरणीय काम भएको बताए । स्थानीय तह निर्वाचन २०७४ अघि घोषणा भएको गोदावरी नगरपालिकाले खानेपानी व्यवस्थापनमा अन्य वडामा पनि उल्लेख्य काम गरेको छ ।

pani-2-1708007261.png
नगरप्रमुख महर्जनले भने, ‘प्रत्येक वडामा दुई तीनवटा ट्याङकी बनेका छन् , पानीको स्रोतको संरक्षण भएको छ ।’ उनले खानेपानी व्यवस्थापनमा गोदावरीले कल्पना गरेभन्दा धेरै काम गरेको दाबी गरे । नगर प्रमुख महर्जनले भने,‘ खानेपानी व्यवस्थापनमा हामीले धेरै काम गरेका छौं, पानीको ९० प्रतिशत समस्या समाधान भएको छ । गोदावरी नगरपालिका वडा नं. ६ का वडाबासी स्वच्छ पानीसहितको धारा घरमा जडान भएपछि खुशी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार