उद्योग–फार्महरूद्धारा महानगरसमक्ष अनुदानका लागि प्रस्ताव पेश 

आर्थिक विकास समतिले गर्‍यो उद्योग–फार्महरूको स्थलगत अनुगमन (भिडियो)

सोमबार, माघ २९, २०८०

सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिकाका आर्थिक विकास समितिले स्वरोजगारमूलक उद्योग तथा फर्म सञ्चालकहरूले आर्थिक अनुदानका लागि पेश गरेको प्रस्तावअनुरुप उद्योग तथा फार्र्महरूको अवस्थाबारे अवलोकन गरेको छ । आर्थिक विकास समितिका संयोजक एवम् महानगर २१ नं. वडाका वडाअध्यक्ष रविन्द्र महर्जनको नेतृत्वमा समितिका सदस्य एवम् वडा नं. २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डे तथा महानगरपालिकाका विषयगत महाशाखाका कर्मचारीसहितको टोलीले वडा नं. २२ मा सञ्चालित बाख्रा फार्म, वडा नं. २७ मा सञ्चालित भेडा फार्म तथा सिलाई उद्योगको स्थलगत अनुगमन गरेको हो । समितिले सुनाकोठीमा रहेको साउजल एग्रो फार्ममा पालिएका भेडा तथा सोही वडामा सञ्चालित सिलाई उद्योग तथा वडा नं. २२ को बाख्रा फार्मको अवलोकन गरेको हो ।  साउजल भेडा फार्म दिलबहादुर महर्जन, कृष्णभक्त महर्जन, श्यामकृष्ण महर्जन, भीम महर्जनको सूहले यसै वर्षदेखि सुरु गरेको हो । यहाँ साना ठूला गरी करिब ६० वटा भेडा रहेका छन् ।
भेडा फार्मको स्थलगत अनुगमनपछि आर्थिक विकास समितिका संयोजक एवम् वडा नं. २१ का वडाअध्यक्ष रविन्द्र महर्जनले महानगरपालिकाले स्वरोजगारमूलक उद्योगहरूको प्रवध्द्र्धनका लागि सहयोग गर्ने जनाउँदै समितिमा आर्थिक सहयोगका लागि आएको प्रस्ताव अनुरुप नै आफूहरू फार्म–उद्योगहरूको अवलोकनमा आएको शब्दपाटीलाई जानकारी दिनुभयो । ‘ललितपुर महानगरपालिका भित्र सञ्चालित यो भेडा फार्म सम्भवत पहिलो नै हो, स्वरोजगारमूलक कार्यमा लाग्नु भएका साथीहरूले महानगरपालिकाबाट सहयोगको अपेक्षासहित प्रस्ताव पेश गर्नुभएको छ । उहाँहरूको प्रस्तावका बारेमा आर्थिक विकास समितिमा फार्म–उद्योगहरूको स्थलगत अवलोकन गरी आवश्यक निर्णय लिने भन्ने निर्णय भएअनुसार हामी अनुगमनका लागि आएका हौं’ आर्थिक विकास समितिका संयोजक महर्जनले भन्नु्भयो, ‘उद्योग–फार्महरू सञ्चालन गर्नु राम्रो काम हो, युवाहरूले रोजगारी पाउने यस्ता काममा महानगरले के गर्न सक्छ हामी छिट्टै निर्णय गर्नेछौं ।’

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार