कोरोना भाइरसका कारण १७ सय नेपालीको मृत्यु 

सोमबार १८ जनाको मृत्यु
सोमबार, मंसिर २९, २०७७

काठमाडौं । नेपालका विभिन्न जिल्लामा थप ८२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४२३ जनाको परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोभिड–१९ पुष्टि भएको हो । तीमध्ये उपत्यकाका तीन जिल्लाका ३३३ जना छन् । 
सोमबार थपिएकासहित देशभर सङ्क्रमितको संख्या दुई लाख ४९,००० पुगेका छन् । १८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मृतकको संख्या १,७०० नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८४२ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । काठमाडौं उपत्यकामा दैनिक औसतमा पाँच सय सङ्क्रमित देखिन थालेका छन् । 
अहिले देशभरि १० हजार ९५५ जनामा सक्रिय सङ्क्रमण भएको र तीमध्ये काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको संख्या त्यसको आधाभन्दा बढी रहेको

मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 
केही सातायता दैनिक हुने परीक्षणको संख्या घटे पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ ।
मन्त्रालयका अनुसार अहिले ४ हजार ४८८ सङ्क्रमित काठमाडौंमा, ३५० जना भक्तपुरमा र ८२९ जना ललितपुरमा छन् । सोमवार सार्वजनिक तथ्यांकमध्ये देशभरि भएका सङ्क्रमितमध्ये २७३ जना आईसीयूमा र ५४ जना भेन्टिलेटरमा भएको सरकारले प्रकाशित गरेको विवरणमा देखिन्छ । अहिले नेपालमा पीसीआर परीक्षण गरिएका नमुनामध्ये १३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । तर पर्याप्त परीक्षण नभएकाले यो तथ्यांकले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक स्थिति प्रतिविम्बित नगर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार