ललितपुरका स्कुले विद्यार्थीलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने

बुधबार, माघ २४, २०८०

ललितपुर । १० कक्षासम्म अध्ययनरत ललितपुरका विद्यार्थीलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ । बाल मृत्युदर घटाउन विद्यार्थीलाई उक्त खोप दिन लागिएको हो । खोप अधिकृत पार्थमणि न्यौपानेले भने, “ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका एवं वाग्मती गाउँपालिका भित्र फागुन १३ देखि खोप लगाउन सुरु गर्नेछौँ ।’ 
बाँकी महाङ्काल र कोञ्ज्योसोम दुई गाउँपालिकामा  फागुन १५ देखि खोप लगाउने कायंक्रम तय भएको स्वास्थ्य कार्यालय ललितपुर र जिल्ला खोप समन्वय समितिले आज आयोजना गरेको ‘दादुरा–रुबेला खोप अभियान अन्तर्गत अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा न्यौपानले जानकारी दिए । 

416502312_1197894714522393_6895433080231175385_n-1707274431.jpg

तराईका २१ र काठमाडौं उपत्यकाका ३ जिल्लाका १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरु दादुरा–रुबेला रोगको बढी जोखिममा रहेकाले ती विद्यार्थीलाई लक्षित गरी स्वास्थ्य शाखा ललितपुरले खोप विरुद्ध उक्त योजना बनेको न्यौपानेले कार्यक्रममा जानकारी दिए । स्वास्थ्य कार्यालय ललितपुरका निमित्त प्रमुख सञ्जु रायले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि सो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएसँगै आफूहरुले पनि ललितपुरका १० कक्षामा अध्ययनरत विद्यार्थीलाई खोप लगाउने तयारी गरिरहेको सुनाइन् ।
जिल्ला समन्वय अधिकारी दिनेश प्रसाद थानीले ललितपुरका सम्पूर्ण बालबालिकाले सो खोप सेवा लिइ दादुरा–रुबेला विरुद्ध लड्न सकुन भन्ने कामना व्यक्त गरे ।
समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले ललितपुरमा सो खोप सेवा लिन कोही पनि नछुट्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाव दिए । 
दादुरा–रुबेला लागेका एक व्यक्तिले १८ जनालाई संक्रमण गर्न सक्ने, गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चाको जन्म हुने, गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्ने समस्या रहेको कार्यक्रममा जानकारी दिइएको थियो । 

416458615_845453130926334_6120451389361464281_n-1707274464.jpg

दादुरा–रुबेला रोग लागेका व्यक्तिले खोक्दा तथा हाच्छियु गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्कोमा हावाको माध्यमबाट पनि सर्ने र यो रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्ने जानकारहरुले अवगत गराएका थिए । ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रुघाखोकीका लक्षण र चिह्न देखिन्छ । दादुरा भएपछि पखाला लाग्ने, कानको संक्रमण हुने, न्यूमोनिया तथा अन्धोपन एवं मस्तिष्कमा कडा खालको संक्रमण हुने र कम्पन आउने जटिलता देखिन्छन् भने रुबेला संक्रमण भएमा हाडजोर्नि सुन्निने वा दुख्ने, गर्भपतन हुने वा मृत शिशु जन्मने, बहिरोपाना, मुटु तथा मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने जटिलताको कारण बिरामीको मृत्यु हुने समेत अवस्था रहेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार