नगरवासीको घर घरमा कर सचेतना टोली पठाउँदै ललितपुर महानगरपालिका (भिडियो)

मंगलबार, माघ २३, २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले नगरवासीलाई करका बारेमा जानकारी दिन घर घरमै कर सचेतना टोली पठाउने तयारी गरेको छ । महानगरपालिकाको स्थानीय राजश्व परामर्श टोलीले महानगरको २६ नं. वडामा सोमबार आयोजित कर शिक्षा कार्यक्रममा नगरवासीलाई करका बारेमा पूर्णरुपमा अवगत गराउन कर सचेतना टोली पठाउने तयारी गरिएको जानकारी दिइएको हो ।  नगरवासीलाई करका बारेमा जानकारी दिने उद्देश्यले महानगरपालिकाको स्थानीय राजश्व परामर्श समितिले राजश्व प्रशासन महाशाखाको समन्वयमा वडास्तरमा कर शिक्षा अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । त्यसै क्रममा हिजो सोमबार महानगरको २६ नं वडामा कर शिक्षा कार्यक्रम गरिएको हो ।  
स्थानीय राजश्ज परामर्श समितिले वडा स्तरमा आयोजना गरेको कर शिक्षा कार्यक्रममा सबै नगरवासी उपस्थित हुन नसक्ने भएकाले घर घरमा करका बारेमा जानकारी दिन टोली खटाउने तयारी गरिएको महाशाखाकी अधिकृत जानुका श्रेष्ठले जानकारी दिनुभयो । 
‘हामी नगरवासी सबैको घर घरमा कर सचेतना टोली पठाउने तयारीमा छौं’ उहाँले भन्नुभयो,‘टोलीले महानगरले लिने सबै प्रकारका करका बारेमा यहाँहरूलाई घर घरमा आएर अवगत गराउनु हुनेछ । त्यसका लागि हामी उहाँहरूलाई प्रशिक्षत गराएर पठाउने छौं ।’
स्थानीय राजश्व परामर्श समितिले वडामा क्रियाशील महिला समूहका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिसहितका वडावासीलाई भेला गराई करका बारेमा अभिमुखीकरण गर्दै आएको छ । यसै सन्दर्भमा महानगरपालिकाको वडा नं.२६ सुनाकोठीको आयोजनामा महानगरको स्थानीय राजश्व परामर्श समितिले सोमबार एक दिने कर शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कर शिक्षा कार्यक्रममा सहभागी वडावासीले आफूहरू घर नजिकको स्थानीय सरकारलाई कर तिर्न राजी भएको जनाउँदै उक्त करको सदुपयोगतर्फ जिज्ञासा राखेका थिए । सम्पत्ति कर, घर वाहल कर, मालपोत तथा सिफारिश दस्तुरलगायतका विषयमा आफूहरूलाई अवगत गराइदिएकोमा कर शिक्षा कार्यक्रमका सहभागी महिलाले वडा कार्यालयलाई धन्यवाद दिँदै आफूहरूले तिरेको करको सही सदुपयोग गर्न सुझाव दिए । 
कर शिक्षा कार्यक्रम समापनका अवसरमा स्थानीय राजश्व परामर्श समितिका सदस्य एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले महानगरपालिकाले कर शिक्षा कार्यक्रमलाई प्राथमिकता साथ अभिमुखीकरण कार्यका लागि वडा स्तरमा लगेको जानकारी दिँदै आम्दानी गर्न सकेका बेला स्थानीय सरकारलाई कर तिरेर अप्ठ्यारो परेका बेला सहयोग माग्न आह्वान गर्नुभयो । ‘तपाईंले तिरेको कर घुमीफिरी तपाईकै घर दैलोमै आइपुग्छ’, राजश्व परामर्श समितिका सदस्य एवम् महानगरको २४ नं.वडाका वडाअध्यक्ष पाण्डेले भन्नुभयो,‘कर तिरेपछि तपाईंले रसिद लिन नर्बिसनु होला ।’
कर शिक्षा कार्यक्रममा राजश्व प्रशासन महाशाखा प्रमुख प्रेम बहादुर थापाले महानगरले उठाउने सम्पत्ति कर, भूमिकर (मालपोत), घर बहाल कर, व्यवसाय कर, कवाडी र जीव जन्तु कर, विज्ञापन कर, मनोरञ्जन करलगायतका विभिन्न शुल्कका बारेमा प्रस्तुति दिनु भएको थियो । 
महाशाखा प्रमुख थापाले जन अपेक्षा  र चाहना बमोजिम नगर विकासको लागि, नगरवासीको सेवा सुविधा बढाउन तथा असल नागरिकको पहिचान बनाउन पनि नगरवासीले कर तिर्नुपर्नेमा जोड दिनु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार