टिप्पणी

हिउँदे अधिवेशन : सदन भत्ता पकाउने थलो मात्रै नबनोस् 

सोमबार, माघ २२, २०८०

काठमाडौं । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । संसद्मा संसदीय व्यवस्था मान्नेहरू छन्, नमान्नेहरू पनि पुगेका छन् । जनतामाझ संसद्ले अपेक्षाकृतरुपमा सक्रियता नदेखाएको भान पर्न नदिन सांसदहरूको सक्रियता आवश्यक छ ।  विभिन्न विषयमा करिब एक दर्जन विधेयक संसदीय समितिहरूमा छन् । विधेयक पारित हुनुपर्ने दृष्टिकोणले अघिल्लो अधिवेशन फलदायी भएको थिएन । यसपटक अधिवेशन सुरु हुनुअगावै प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसद्हरूलाई तयारी गरेर मात्रै बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । 
कुनै पनि विषयमा आफ्ना भनाइ राख्दा पूर्णतयारी गर्न उनले भनेका छन् । एमाले सांसद्का तर्फबाट संसदमा ‘यो वाक्य रेकर्डबाट हटाइयोस्’ भन्नु नपर्नेगरी तयारी गर्न उनले भनेका छन् ।
प्रतिपक्षी दलले सरकारलाई निरन्तर खबरदारी गरिरहनै पर्छ । अपेक्षाकृतरुपमा एमाले त्यो भूमिकामा सशक्त हुनै सकेको छैन । अघिल्लोपटक सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठनको मागलाई लिएर लामो गलफती गरिरह्यो ।
सुन तस्करी छानबिन र मुद्दाको कारबाही अगाडि बढाउने सरकारका निकाय नभएका होइनन् । तर, प्रतिपक्ष किन आयोग चाहियो भनेर उफ्रिएको थियो भन्ने विषयमाथि अझै पनि बहस गर्ने ठाउँ छन् । 
सरकार दलहरूको गठबन्धनको छ । सत्ता गठबन्धनमा रहेका दलहरूको मिलेमत्तोका अगाडि प्रतिपक्षको आवाज बुलन्द हुनै पर्छ । किनभने विरोधका स्वर नसुनिने हो भने सत्ताले मनोमानी गरिछाड्छ । 
नक्कली भुटानी शरणार्थी, सुन तस्करी र एनसेलको सेयर बिक्री प्रकरणमा सरकारको काम गराइ निरन्तर प्रश्नहरूको घेरामा छ । नेता र लब्धप्रतिष्ठित उद्योगी व्यवसायी मुछिएका काण्डमा आयोग गठन गरेर उम्किने विगतका अभ्यास पुनरावृत्ति भइरहन्छन् । 


सत्ताधारीले आयोग र अनुसन्धान तथा कारवाही चलाउने निकाय देखाउँछन्, प्रतिपक्ष पनि आफ्ना कोही मुछिएको छ÷छैन भनेर चनाखो भएर हेर्छ र सावधानीपूर्वक बोल्छ । 
संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाले मात्रै देश चल्दैन । तीन तहको सरकार छ । ऐनकानुन धेरै बन्नै बाँकी छन् । संघले कानुन नबनाउँदा त्यसमा टेकेर अघि बढ्ने प्रदेश र स्थानीय तहका अधिकार कुण्ठित भएका छन् । सांसद्हरूले सदनमा आफ्नो प्रभावकारी उपस्थिति देखाउन जरुरी छ । सदन र समितिमा आउने विधेयकहरू अध्ययन गर्ने, आवश्यक संशोधनका लागि उदाहरणसहित तर्कपूर्ण बहसमा सक्रियता देखिनै पर्छ । 
त्यसै पनि मुलुक राजनीतिले गिजोल्दा रोजगारीका क्षेत्र खुम्चिएका छन् । जनताको गरिखाने वातावरण बिथोलिएको छ । द्वन्द्वको दशक पार गरेर आएका नेपालीले छोराछोरीलाई ‘यहाँ केही हुँदैन, विदेश जाउ’ भन्नैपर्ने अवस्था फेरिनु पर्छ । त्यसका लागि दलहरूले निराशाको वातावरणलाई चिर्नै पर्छ । 
जनताको भाग खोसेर जम्मा हुने ‘कर’ बाट चल्ने सरकार जिम्मेवार हुनुपर्छ । दलहरू जिम्मेवार हुनुपर्छ । राज्य संयन्त्रमा सत्ता गठबन्धन दलहरू जतासुकै हाबी छन्, उनीहरूमाथि निरन्तर खबरदारी आवश्यक छ । बहुमत र अल्पमतको खेलमा चल्ने सरकार बनाउन र टिकाउन जसजसको योगदान रहन्छ, उनीहरूलाई खुसी पार्न सरकारले जेसुकै गर्न पाउनु हुँदैन । 
संसद् सांसदहरूको तलब र भत्ता पकाउने थलो मात्रै बनिरहँदा निर्वाचनहरूमा अनपेक्षित नतिजाले पर्खिन्छन् । राजनीतिमा टिकिरहन चाहने नेताहरूले अध्ययन गर्नुपर्छ, तर्कपूर्ण अभिव्यक्ति राख्नुपर्छ । संसदीय अभ्यास नतिजामुखी हुन सकेन भने व्यवस्था नै अफाप हुन्छ । त्यस्तो हुन नदिन सांसद्को काँधमा जिम्मेवारी छन् । आफ्नै दल, आफ्नै सरकारले अघि सारेका एजेन्डा पनि न्यायोचित छैनन् भने जनप्रतिनिधिले विमति प्रष्ट राख्नुपर्छ । 
सुशासनका लागि जनता निरन्तर खबरदारी चाहन्छन् । त्यसमा खरो उत्रिने जिम्मेवारीका लागि सांसद् आफैंले मनन जरुरी छ । सदनमा पुगेपछि मैले कुन बहसमा भाग लिएँ, के गरेँ, त्यो नतिजामुखी भयो÷भएन भनेर स्वमूल्यांकन जरुरी छ ।
मुलुक रेमिटान्सको भरमा चलेको छ । स्वदेशी उद्योगको साटो आयातमा आधारित बजार बढेको छ । हाम्रा आफ्नै उत्पादन घटे । उद्योगी व्यवसायीमा नयाँ उद्योग खोलेर चलाउनेभन्दा आयातमा आधारित कारोबार बढाउने होड छ । शैक्षिक जनशक्ति स्वदेशमा अडिने चाहना राख्दैन । 
विदेश पढ्न गएकाहरू फर्किएर काम गर्ने क्षेत्र देख्दैनन् । व्यवस्थापिकाले गम्भीर भएर मनन गर्नुपर्ने क्षेत्र धेरै छन् । त्यसैले जनप्रतिनिधिहरूले सदनमा आआफ्नो उपस्थितिलाई उत्तरदायी बनाउनै पर्छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार