सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् । साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । यसैगरी सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावा–हुरीबाट प्रभावित भएको छ । विद्यालय नजिकैको रुख ढल्दा भवनको छानामा क्षति पुगेको छ भने शौचालयसमेत भत्किएको छ । हावाहुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको छ । क्षतिको विवरण आइ नसकेको स्थानीय प्रशासनले जनाएको छ । रामेछापमा १० वर्ष यताको यो सबैभन्दा ठुला हावाहुरी भएको स्थानीयले बताएका छन् । यस अघि २०७२ सालको भूकम्प पछि यस्तै हावा–हुरी चलेको थियो । हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नेपाल विद्युत प्राधिकरणको मन्थली प्रशारण केन्द्रका अनुसार सिन्धुली जिल्ला र दोलखा जिल्लातर्फबाट आएको प्रशारण लाइनमा एकैपटक ‘फल्ट’ देखिँदा विद्युत सेवा बन्द भएको हो । प्राधिकरणका अनुसार लाइनमा आएको समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको भए पनि बिहानसम्म समस्या पत्ता लाग्न सकेको छैन ।