गगन थापाको राजिनामा विकल्प होइन : ललितपुरका कांग्रेस जनप्रतिनिधि 

बिहीबार, फागुन २८, २०८२

ललितपुर ।  पार्टी नेतृत्वलाई लिएर पछिल्लो समय चलिरहेको बहस बीच ललितपुरका नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाको राजीनामा अहिलेको विकल्प नभएको बताएका छन् ।  ललितपुर महानगरपालिका तथा जिल्लाका अन्य पालिकाबाट निर्वाचित कांग्रेस जनप्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थिति, पार्टीभित्र भइरहेको रूपान्तरण र कार्यकर्तामा थपिएको नयाँ ऊर्जालाई ध्यानमा राख्दै नेतृत्व परिवर्तनको माग उपयुक्त नहुने बताएका हुन् । 
 विज्ञप्तिमा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले धेरै स्थानमा नयाँ उम्मेदवार उठाए पनि बदलिएको कांग्रेस,आफ्ना प्रतिज्ञा र कार्यक्रम मतदातामाझ पर्याप्त रूपमा पु¥याउन समय कम भएकाले अपेक्षित परिणाम आउन नसकेको उल्लेख गरिएको छ । मतदातामाझ बदलिएको कांग्रेस प्रतिको दृष्टि र कार्यक्रम स्पष्ट रूपमा राख्न समय अभाव हुँदा धेरै ठाउँमा हार व्यहोर्नु परेको उनीहरूको भनाइ छ ।

 विशेष महाधिवेशनपछि बनेको थापा नेतृत्वको कार्यसमितिले पार्टी संगठनभित्र नयाँ ऊर्जा र उत्साह थपेको जनप्रतिनिधिहरूले बताएका छन् ।  साथै पार्टीमा विश्व प्रकाश शर्मासहितको नेतृत्वले कांग्रेसलाई पुनः सक्रिय र जनतामाझ उभिन सक्ने वातावरण बनाएको उनीहरूको दाबी छ। यस्तो अवस्थामा सभापति थापाको राजीनामा माग गर्दै देउवा निकटका केही नेताहरू सक्रिय भएको सन्दर्भमा ललितपुरका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । 
  उनीहरूले परिवर्तनको नेतृत्व गरेको वर्तमान नेतृत्वलाई कमजोर पार्नु भन्दा संगठनलाई अझ सुदृढ बनाउँदै जनतामाझ विश्वास पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
उक्त विज्ञप्तिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश केसी, गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले हस्ताक्षर गरेका छन् । 
 जनप्रतिनिधिहरूले पार्टीभित्रको सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै कांग्रेसलाई अझ एकताबद्ध र सशक्त बनाउँदै अघि बढ्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार