नाचगानसहित बिदा भए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

शुक्रबार, फागुन २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूलाई विहीबार बिदाई गरिएको छ । प्रहरी वृत्त गौशलाको मातहतमा रहेर काम गरेका २०३ जना निर्वाचन प्रहरीलाई बत्तिसपुतलीस्थित सगुन बैंक्वेटमा आयोजित ‘बिदाई तथा फेरि भेटौँला’कार्यक्रममा बिदाई गरिएको हो । कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । एक महिनासम्म निर्वाचनको सुरक्षामा खटिएका उनीहरू बिदाईका क्रममा नाचगान गर्दै खुसी साटासाट गरेका थिए । निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभव सुनाउँदै धेरैले आगामी दिनमा पनि यस्तो अवसर पाए फेरि सेवा गर्ने इच्छा व्यक्त गरे ।
ओखलढुङ्गाका टोपलाल दाहाल काठमाडौं क्षेत्र नम्बर ४ मा खटिएका थिए। निर्वाचनको दिन पशुपति क्याम्पस मतदान केन्द्रमा खटिएका दाहालले विदेशमा काम गरेको अनुभवका कारण यहाँ काम गर्न सहज भएको बताए । उनले भने, ‘मलाई काम गर्न निकै सहज भयो । हामीले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्यौं । सबै साथीहरूको सहकार्यका कारण वातावरण पनि सहज भयो ।’ सिन्धुली घर भएका हरि अधिकारी भद्रकाली मतदान केन्द्रमा खटिएका थिए । उनले पहिलो पटक निर्वाचन प्रहरीको रूपमा काम गर्दा रमाइलो अनुभव भएको बताए । ‘म पहिलो पटक निर्वाचन प्रहरीको रूपमा काम गरेँ। म खटिएको ठाउँमा नेपाल आर्मी पनि हुनुहुन्थ्यो । आर्मीहरु पनि मतदाताको रुपमा थिए । समानुपातिकतर्फको मात्र बुथ भएकाले काम गर्न अझ सहज भयो,’ उनले भने । अधिकारीले सरकारले अवसर दिए आगामी दिनमा पनि देशका लागि काम गर्न आफू उत्साहित रहेको बताए । ‘आगामी दिनमा देशका लागि अझ राम्रो काम गर्न चाहन्छु। त्यसका लागि सरकारले अवसर दिनुपर्छ,’ उनले भने । सुदूरपश्चिमको कैलालीका लक्ष्मण जैसी भने उच्च शिक्षाका लागि दक्षिण कोरिया जाने तयारीमा छन् । उनले पाँच वर्षपछि हुने चुनावमा अवसर पाए पुनः निर्वाचन प्रहरीका रूपमा काम गर्ने इच्छा व्यक्त गरे । ‘म गौशालाको विजयचोक क्षेत्रमा खटिएको थिएँ । एक महिना निर्वाचन प्रहरीको रूपमा काम गर्दा निकै रमाइलो अनुभव भयो । यस्तो अवसर फेरि पनि पाउँ भन्ने चाहना छ । अब १५ दिनपछि कोरिया जाँदैछु । पाँच वर्षपछि हुने चुनावमा अवसर पाए फेरि सहभागी हुनेछु,’ उनले भने। कर्णाली प्रदेशको जुम्ला घर भएकी मिठु बुढा निर्वाचनको दिन सिनामंगलमा खटिएकी थिइन् । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको थियो । ‘हाम्रो एजेन्डा शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउनु थियो । निर्वाचन राम्रो र शान्तिपूर्ण रूपमा सम्पन्न भयो। यसमा हाम्रो टोली मात्र नभई सम्पूर्ण सुरक्षा निकायहरूको उत्तिकै भूमिका छ,’ उनले भनिन् । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचनमा खटिएका प्रहरीहरूको कामको प्रशंसा गरे । उनले भने, ‘गत माघ १८ गतेदेखि फागुन २८ गतेसम्म प्रतिनिधिसभा निर्वाचनका लागि हामीसँगै रहेर सुख–दुःख र सबै कठिनाइ सहेर उत्कृष्ट रूपमा जिम्मेवारी पूरा गर्नुहुने निर्वाचन प्रहरी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।’ थापाले निर्वाचन प्रहरीहरूले देखाएको समर्पण स्मरणीय र प्रशंसनीय रहेको उल्लेख गरे। ‘तपाईंहरूले जसरी काम गर्नुभयो, त्यो समर्पण अत्यन्त स्मरणीय छ । त्यसका लागि म उच्च प्रशंसा र मूल्यांकन गर्न चाहन्छु,’ उनले भने । उनले समाजको सुरक्षामा प्रहरीको भूमिका अपरिहार्य रहेको पनि बताए । ‘प्रहरी बर्दी लगाएर सडकमा उभिएका कारण हामी सुरक्षित महसुस गर्छौं। हामी आफ्नो दैनिक काम गर्न सक्छौं र राति निर्धक्क सुत्न सक्छौं। कहिलेकाहीँ प्रहरीले निषेध मात्र गर्छ भन्ने भावना आउन सक्छ, तर प्रहरीबिनाको समाज र सुरक्षा सम्भव छैन,’ उनले भने । निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि बिदाई भएका निर्वाचन प्रहरीहरूले नाचगानसहित खुसी साट्दै आगामी दिनमा पनि देशसेवाको अवसर पाए पुनः सहभागी हुने उत्साह व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार