ललितपुर महानगपालिका वडा नं. २३ मा गतिलिँदै स्वास्थ्य बीमा कार्यक्रम (भिडियो)

आइतबार, माघ २१, २०८०

धापाखेल (ललितपुर) । केही दिन अघिबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले ललितपुर महानगरपालिका २३ नं. वडामा गति लिन थालेको छ । ललितपुर महानगर पालिकामा भर्खरै स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको हो ।  महानगर २३ नं. वडाले स्वास्थ्य बिमा दर्ता सहयोगीका रुपमा मन्दिरा केसीलाई छनोट गरेको छ । बीमा बोर्डमार्फत अभिमुखीकरण लिएपछि उहाँले स्वास्थ्य बिमाको दर्ता सुरु गर्नु भएको हो । 
दर्ता सहयोगी केसीले वडाका टोल टोलमा गएर स्वास्थ्य बिमा गराइरहनु भएको छ । अहिलेसम्म १० घर परिवारको स्वास्थ्य बिमा भइसकेको छ । २३ नं वडाका वडाअध्यक्ष जीवन महर्जनले आफ्नो वडामा केही दिन अघिदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको जानकारी दिँदै वडावासीलाई स्वास्थ्य बिमा गराएर सरकारले उपलव्ध गराएको सेवा उपयोग गर्न आह्वान गर्नु भएको छ । 

Mandira--1707013479.jpg

सरकारले ५ जनाको परिवारलाई बार्षिक ३ हजार ५०० रुपैयाँ बुझाएपछि स्वास्थ्य बीमामा दर्ता हुन पाउने व्यवस्था गरेको छ । पाँचजना सदस्यलाई एक परिवार मानेर बीमा सेवा सुरु गरिएको छ । पाँच जनाबाट थप हुने हरेक सदस्य बराबर ७०० रुपैयाँ थप्नुपर्छ । स्वास्थ्य बीमामा सहभागी हुँदा लाग्ने रकम बीमा गर्ने परिवारले नै तिर्नुपर्छ । बीमा कार्यक्रममा स्थायी बासिन्दासँगै अस्थायी बासिन्दा पनि सहभागी हुन सक्छन् ।
बीमितका लागि प्राथमिक अस्पतालका रुपमा छयाबहालमा रहेको समाज कल्याण परिषद् भवनमा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले ओपिडी, ल्याब, फार्मेसी, एम्बुलेन्स लगायतको व्यवस्थापन गरिएको छ । केन्द्र १ फागुनदेखि पूर्ण रुपमा सञ्चालनमा आउनेछ । 

स्वास्थ्य बीमा के–के पाइन्छ सुविधा ?

स्वास्थ्य बीमामा सहभागी हरेक परिवारले बर्षमा एक लाख रुपैयाँसम्म सरकारले तोकेको स्वास्थ्य उपचार सुविधा पाउँछ । ५ जनाभन्दा बढी सदस्य भएमा प्रत्येक सदस्य थप हुँदा २० हजार सुविधा रकम थपिन्छ । र, बर्षमा अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने छ । यो कार्यक्रममा साना किसिमका शल्यक्रिया समावेश हुन्छ । एक्स–रे, ईसीजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, लगायत ल्याब सेवाहरु उपलब्ध हुन्छन् । स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत औषधि निःशुल्क प्राप्त गर्न सकिन्छ भने, क्याबिन बाहेकको बेडका लागि शुल्क लाग्दैन । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार