सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत केही महिनादेखि उच्चस्तरमा कोरोनाभाइरस सङ्क्रमित पाइँदै आएको राजधानी काठमाडौं उपत्यकामा गएको एक सातामा औसतमा दैनिक पाँच सय जनाको हाराहारीमा सङ्क्रमित भेटिइरहेका छन् । अघिल्लो साताको आइतवारदेखि यो आइतवारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार उपत्यकाका तीन जिल्लाको स्थिति त्यस्तो देखिएको हो । पछिल्ला केही महिनादेखि काठमाडौं उपत्यका र केही ठूला सहरी क्षेत्रहरू सङ्क्रमण तीव्र भएका स्थानका रूपमा रहेको मन्त्रालयको विवरणले देखाउँछ । सरकारी विवरणले उपत्यकासहित अन्य क्षेत्रमा सङ्क्रमण कम भएको देखाए पनि कतिपय विज्ञहरूले पछिल्ला दिनहरूमा कोरोनाभाइरसको परीक्षण कम संख्यामा भइरहेकाले यस्तो देखिएको भन्ने गरेका छन् । उपत्यकामा सङ्क्रमणको अवस्था कस्तो छ ? स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो आइतवार उपत्यकाभित्र ४८४ सङ्क्रमित भेटिएका थिए । त्यस्तै सोमवार ४४२ मंगलवार ५९४ बुधवार ४९६ बिहीवार ४०४ शुक्रवार ५४१ शनिवार ४८२ र आइतवार ३४८ सङ्क्रमित पाइएका छन् । आइतवार पाइएका सङ्क्रमितमध्ये १५० महिला र १९८ पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा अहिले सक्रिय सङ्क्रमितको संख्या ४,२४५ रहेको छ ।
अन्य पछिल्लो विवरण पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कुल ५१८१ नमुनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टाको अवधिमा नेपालमा ९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल संख्या २,४८,४२३ पुगेको छ । अहिलेसम्म देशभरि १,६९८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।