कर तिर्न नगरवासीलाई अभिप्रेरित गर्दै ललितपुर महानगर (भिडियो)

स्थानीय राजश्व परामर्श समितिद्धारा २८ नं वडा कार्यालयमा कर शिक्षा कार्यक्रम सम्पन्न 
बुधबार, माघ १७, २०८०

हरिसिद्धि (ललितपुर) । नगरवासीलाई कर तिर्न अभिप्रेरित गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले कर शिक्षा अभिमुखीकरण कार्यक्रमलाई वडास्तरमा लगेको छ । वडामा क्रियाशील महिला समूहका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिसहितका वडावासीलाई भेला गराई महानगरले करका बारेमा अभिमुखीकरण गर्न सुरु गरेको हो । यसै सन्दर्भमा महानगरपालिकाको वडा नं. २८ हरिसिद्धिको आयोजनामा महानगरको स्थानीय राजश्व परामर्श समितिले सोमबार एक दिने कर शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

KAR--1706659340.jpg

कर शिक्षा कार्यक्रममा सहभागी वडावासीले आफूहरू घर नजिकको स्थानीय सरकारलाई कर तिर्न राजी भएको जनाउँदै उक्त करको सदुपयोगतर्फ जिज्ञासा राखेका थिए । सम्पत्ति कर, घर वाहल कर, मालपोत तथा सिफारिश दस्तुरलगायतका विषयमा आफूहरूलाई अवगत गराइदिएकोमा कर शिक्षा कार्यक्रमका सहभागी महिलाले नगरपालिका खाष गरी वडा कार्यालयलाई धन्यवाद दिँदै आफूहरूले तिरेको करको सही सदुपयोग गर्न सुझाव दिएका थिए । 
कर शिक्षा कार्यक्रम समापनका अवसरमा स्थानीय राजश्व परामर्श समितिका सदस्य एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले महानगरपालिकाले अघिल्लो वर्षदेखि नै कर शिक्षा कार्यक्रमलाई प्राथमिकता साथ अभिमुखीकरण कार्यका लागि वडा स्तरमा लगेको जानकारी दिँदै आम्दानी गर्न सकेका बेला स्थानीय सरकारलाई कर तिरेर अप्ठ्यारो परेका बेला सहयोग माग्न आह्वान गर्नुभयो । 

BIRENDR-Maharjan--1706659338.jpg
 

‘तपाईंले तिरेको कर घुमीफिरी तपाईकै घर दैलोमै आइपुग्छ’, राजश्व परामर्श समितिका सदस्य २४ नं. का वडाअध्यक्ष पाण्डेले भन्नुभयो,‘कर तिरेपछि तपाईंले सभ्य नागरिकको परिचय पाउनु हुनेछ ।’
कर तिरिदिनुहोस् भनेर मात्रै आज तपाईंहरुलाई महानगरपालिकाले यहाँ बोलाएको होइन उहाँले भन्नुभयो, ‘तपाईंले तिरेको कर तपाईंलाई नै कसरी आउँछ भनेर जानकारी दिन यो कार्यक्रम गरिएको हो ।’ 
कर शिक्षा कार्यक्रम समापन समारोहका सहभापति एवम् २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जनले कर शिक्षा कार्यक्रमप्रति वडावासीले देखाएको जागरुकताका लागि धन्यवाद दिँदै कर तिरेर राज्यबाट पाइने सेवा सुविधा सहज ढंगले उपभोग गर्न आह्वान गर्नुभयो । 

sahavigi-mahila--1706659292.jpg
 

उहाँले वडाले घरको विवरण दिन आह्वान गरेका बेला सम्पूर्ण विवरण दिएर सहयोग गर्न पनि वडावासीलाई अनुरोध गर्नु भयो । ‘वडाले मागेको विवरण सहि ढंगले प्राप्त भए मात्रै अप्ठ्यारो परेका बेला हामी तपाईलाई सहयोग गर्न आउँदा सहज हुनेछ’ वडाअध्यक्ष महर्जनले भन्नुभयो । 
कर शिक्षा कार्यक्रममा वडा नं. २८ का जनप्रतिनिधि शरणलक्ष्मी महर्जन, लक्ष्मी नेपाली, सिद्धिराम महर्जन, जीवन महर्जन,  राजश्व प्रशासन महाशाखा प्रमुख प्रेम बहादुर थापा तथा राजश्व महाशाखाका कर्मचारी, ववडासचिव, वडा कार्यालयका कर्मचारीसहित महिला समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

sahavagi-1-1706659291.jpg
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार