राजीनामा दिएकै दिन गठबन्धन फेरेर नीतिश कुमार फेरि बिहारको मुख्यमन्त्री

आइतबार, माघ १४, २०८०

बिहार । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा नीतिश कुमार नवौँ पटक मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आइतवार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए तर केन्द्रको सत्ताधारी भारतीय जनता पार्टीसँग गठबन्धन गरेर आइतवारै पुनस् मुख्यमन्त्रीको शपथग्रहण गरेका हुन् । भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ र त्यस क्रममा त्यहाँ चुनावअघि अनेक दाउपेचहरू भइरहेको बताइन्छ । सत्ताधारी भारतीय जनता पार्टीसँग मुख्य प्रतिस्पर्धामा रहेको भनिएको विपक्षीहरूको गठबन्धनको एउटा महत्त्वपूर्ण दलको नेतृत्व गर्ने नीतिश कुमारको राजीनामा र पुनः नियुक्तिलाई पनि त्यसैको एउटा सिलसिलाका रूपमा हेरिएको छ । नीतिश कुमारले आइतवार बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामापत्र बुझाएका थिए । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको रायका आधारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग हुने निर्णय गरेको बताएका थिए । नीतिश कुमारले नवौँ पटक बिहारको मुख्यमन्त्रीको शपथ लिएसँगै उनीसहित कुल नौ जना मन्त्रीले शपथग्रहण गरेका छन् । त्यसमा तीनजना भाजपा, मुख्यमन्त्रीसहित नीतिश कुमारको दलका चारजना रहेका छन् भने एकजना हिन्दुस्तानी अवाम मोर्चा र एकजना स्वतन्त्र विधायक मन्त्री बनेका छन् । त्यहाँ दुईजना उप–मुख्यमन्त्री नियुक्त भएका छन् ।

राजीनामापछि नीतिश कुमारले के भनेका थिए ?
आइतवार बिहान राजीनामापछि उनले भनेका थिए, ‘आज मैले पदबाट राजीनामा दिएको छु। हामीले पार्टीको र जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने घोषणा गर्‍यौँ। हामी आज गठबन्धनबाट अलग भयौँ ।’ नीतिश कुमारलाई राजीनामाको कारण सोध्दा उनले भने, ‘यो सरकार राम्रोसँग चलिरहेको थिएन। केही समस्या थियो । हामीले हेरिरहेका थियौँ। पार्टी भित्र र बाहिरबाट पनि राय आइरहेका थिए। सबै कुरा सुनेपछि राजीनामा दिएर सरकार भङ्ग गर्‍यौँ ।” “हामीले अघिल्लो गठबन्धन छोडेर बनाएको नयाँ गठबन्धनमा आएको डेढ वर्ष बितिसक्दा पनि अवस्था ठीक देखिएन ।’ उनले भने । बिहारका राज्यपालको कार्यालयले उनको राजीनामाको पुष्टि गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । त्यसमा लेखिएको थियो, ‘माननीय राज्यपालले माननीय मुख्यमन्त्री नीतिश कुमारको राजीनामा स्वीकृत गर्नुभयो र वैकल्पिक व्यवस्था नभएसम्म कार्यवाहक मुख्यमन्त्रीको रूपमा काम गर्न उहाँलाई नै तोक्नु भयो ।’

नितिशकुमार

फेरि भाजपासँग गठबन्धन ?
उनले डेढ वर्ष अघिको गठबन्धन छोडेको बताए । नयाँ गठबन्धन र भावी सरकार बारे केन्द्रको सत्ताधारी भारतीय जनाता पार्टी नेतृत्वको एनडीए गठबन्धनको बैठकबाट निर्णय हुने पनि बताए । गत सातादेखि नै नीतिश कुमारले आरजेडीसँगको गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्न सक्ने अनुमान गरिएको थियो । अन्तिम घडीसम्म नीतिशले यसबारे आधिकारिक रूपमा केही भनेनन् तर बिहारको राजनीतिमा उनको ‘ट्र्याक रेकर्ड’ नै हरेक खालका अनुमानलाई सही र सम्भाव्य मान्न सकिने खालको छ र अहिले पनि त्यस्तै भयो ।

नीतिश कुमार यसअघि बिहारमा जारी राजनीतिक गतिविधिका बीच राजधानी पटनामा उनको पार्टी जनता दल (युनाइटेड) को बैठक बसेको थियो । त्यसपछि नीतिश कुमार राजभवन गए । आइतवारै राष्ट्रिय जनता दलले पत्रिकामा विज्ञापन छपाउँदै धन्यवाद ज्ञापन गरेको छ । त्यसमा तेजस्वी यादवलाई बिहारमा चार लाख रोजगारी सिर्जना गरेकोमा र बाँकी कामका लागि धन्यवाद दिइएको छ । नीतिश कुमार लालुप्रसाद यादवको राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका थिए । सन् २०२२ को अगस्टमा नीतिश कुमारले भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीएसँग सम्बन्ध तोडेर नयाँ सरकार गठन गरेका थिए । उनी आइतवार लालुप्रसाद यादवसँगको सम्बन्ध तोडेर पुनः भाजपा नेतृत्वको पुरानै गठबन्धनमा फर्किए ।

नितिश कुमार

नीतिश कुमारको राजनीति
सन् २०२२ मा नीतिश कुमारले भाजपासँगको गठबन्धन तोडेर आरजेडीमा सामेल हुनु उनको पहिलो त्यस्तो कदम थिएन । त्यसलै त्यस बेला पनि त्यो निर्णयबारे धेरैले आश्चर्य मानेनन् । पछिल्ला केही दिनदेखि बिहारको राजधानी पटनाबाट आइरहेका खबरहरू अनुसार विपक्षी दलहरूको ‘इन्डिया गठबन्धन’लाई एकताबद्ध बनाउन खोजेका नीतिशकुमार आफैँ गठबन्धन छाड्न लागेका छन् भने सङ्केत पाइएको थियो । त्यसका लागि उनी विकल्प तयार पार्ने कोसिसमा रहेका थिए । उनको दल ‘इन्डिया गठबन्धन’ले सीट बाँडफाँडमा गरेको ढिलाइप्रति खुसी नभएको देखिएको थियो । पुरानो गठबन्धनमा मनमुटाव रहेको प्रारम्भिक सङ्केतपछि शनिवार दिउँसो उनको दल र लालुप्रसाद यादवको दलबीच मनमुटाव रहेको र नीतिश कुमारले फरक बाटो लिने लगभग स्पष्ट भएको थियो । नीतिश कुमारले आफ्नो राजनीतिक जीवनमा ‘यू–टर्न’ लिएर आफ्नै स्वार्थको राजनीति गर्ने कुरालाई सामान्य रूपमा अपनाएको बारम्बार देखिने गरेको छ।–बीबीसी 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार