विद्यार्थीको गुनासो प्रत्यक्ष सुन्न भरतपुरका विद्यालयमा महानगर प्रमुख रेणु

शुक्रबार, माघ १२, २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेकी छन् । शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न प्रमुख दाहालसहितको टोली त्यहाँ पुगेको हो । भरतपुर महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कार्यक्रममा यस आर्थिक वर्षमा केही नमुना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवम् संवाद गरिने छ । कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख दाहालले बताइन् ।

विद्यालयको सुधारका लागि प्रयाप्त मात्रमा भौतिक पूर्वाधारहरु निर्माण भइसकेकोले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरु अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको उनले जानकारी दिइन् । विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा महानगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो ।
शिक्षा क्षेत्रमा ठूलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आएको थियो । जनकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीहरुले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए । महानगरपालिकाले विद्यालयमा गर्दै आइरहेको बजेट विनियोजनमा सन्तुष्ट देखिएका छन् । विद्यालयमा देखिएका केही समस्यालाई तत्काल नै समधान गर्ने गरी विद्यालय व्यवस्थापन समितिसँग छलफल पनि गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । यसले विद्यार्थीको नेतृत्व विकासमा सहयोग पुग्ने भएकाले भरतपुरका विद्यालयमा प्रमुख, उपप्रमुखहरु पुग्ने उनको भनाई छ । कार्यक्रम महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार