स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

सोमबार, माघ ८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे सोमबार दिउँसो भएको उच्चस्तरीय छलफलमा उनले नर्सिङ शिक्षाका कुरा गरिरहँदा नर्सिङ र सीटीइभीटीको क्षेत्राधिकार बाझिने परिस्थिति हुने भन्दै त्यसलाई प्रष्ट पारेर जानुपर्ने बताए । 
उनले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक हुने पनि जानकारी दिएका छन् ।  उनले भने, ‘चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ । आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौं । त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाउँ ।’ उनले ऐनमा भएको व्यवस्था लागू गर्न चुक्न नहुने भन्दै भएको साधनस्रोतका आधारमा गर्न सकिने कामहरू कार्यतालिका बनाएर गर्नुपर्ने बताए । 
बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, स्वास्थ्य सचिवद्वय डा। रोशन पोखरेल, देवकुमारी गुरागाइँ, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णकुमारी काप्री, नर्सिङ काउन्सिलका रजिष्ट्रार शुक्ला खनाल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार