प्रधानमन्त्रीको निर्देशनपछि बीपी प्रतिष्ठानमा बैठक बस्दै

सोमबार, माघ ८, २०८०

विराटनगर । कर्मचारी र शिक्षकको आन्दोलनका कारण प्रभाविन बनेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न समितिको बैठक बोलाउन निर्देशन दिएपछि कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक सोमबार साँझ बस्ने तयारी छ ।  यसअघि डा. कार्कीले गत शुक्रबार काठमाडौंमै कार्यकारी समिति बैठक बोलाएका थिए । उक्त बैठकले कुनै निकास नदिएपछि प्रधानमन्त्रीले धरानमै बैठक राख्न निर्देशन दिएका थिए । लामो समयदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको भन्दै प्रतिष्ठानका कर्मचारी र चिकित्सक शिक्षकहरु आन्दोलित बनेका छन् । यसअघि भएको आन्दोलनपछि प्रतिष्ठान व्यवस्थापनले समस्या समाधान गर्ने सहमति गरे पनि बढुवा प्रक्रिया अघि बढाउन आनाकानी गरेको भन्दै उनीहरुले फेरि आन्दोलन थालेका हुन् । आकस्मिकबाहेक सेवा ठप्प पार्नेदेखि उपकुलपतिलाई निषेधित क्षेत्र तोक्ने, धर्ना बस्ने जस्ता आन्दोलनका कार्यक्रम उनीहरुले गर्दै आएका थिए । लामो समयदेखिको आन्दोलनका कारण प्रतिष्ठानबाट हुने उपचार सेवा प्रभावित हुनुका साथै त्यहाँको शैक्षिक कार्यक्रमलगायत गतिविधिमा पनि असर गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार