चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झर्‍यो 

बुधबार, माघ ३, २०८०

काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम पाँच डिग्री सेल्सियस मापन भएको छ । आज बिहान साँढे  ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियससम्म पुगेको थियो । मंगलबार राती कोशी,बागमती गण्डकी प्रदेशका उच्च पहाडी जिल्लाका केही ठाउँमा हिमपात र हिउँदे वर्षा भएको विभागले जनाएको छ । उच्च पहाडी स्थानमा भएको हिमपात र वर्षाका कारण चिसो बढेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 
बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ । साथै, तराई भू–भागमा हुस्सु÷कुहिरो लागेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार राती कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार