सोमबारदेखि अमेरिकामा कोभिड¬–१९ खोप दिन शुरू गरिने

आइतबार, मंसिर २८, २०७७

वासिङटन । कोभिड–१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सर्वसाधारणले सोमवारदेखि लगाउन पाउने छन् । यो सप्ताहन्तमा पहिलो ३ करोड मात्रा खोप ‘सबै राज्यहरूमा’ पठाइएको खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले भने । यो खोप कोभिड–१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’ ले सुरक्षित ठहर गरेको छ । शनिवारमात्रै अमेरिकामा सर्वाधिक ३ हजार ३०९ जनाको मृत्यु भएको थियो । उक्त संख्या जोन्स हप्किन्स विश्वविद्यालयले रेकर्ड गरेकोमध्ये संसारभरकै एकदिनमा उच्च मृत्यु हो । अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ । ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिँदै भनेको छ, ‘महामारीमा यो ‘महत्त्वपूर्ण’ प्रगति हो । शनिवारको प्रेस सम्मेलनमा जनरल पर्नाले भने, ‘अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ ।’
‘१४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मंगलबार प्राप्त हुने र ६६ स्थानमा बुधबार प्राप्त हुने अपेक्षा छ’, उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताए ।
पर्नाले संवाददाताहरूलाई खोप सुरक्षित रूपमा यथास्थानमा पुग्नेमा आफू ‘शत प्रतिशत’ विश्वस्त रहेको बताए । यूके, क्यानडा, बाहरायन र साउदी अरेबियाका नियामक निकायले फाइजर खोपलाई अनुमति दिइसकेका छन् । अन्य मुलुकमा झैँ अमेरिकाका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्यकर्मी र केयर होममा बसेकाहरूलाई प्राथमिकता सूचिको पहिलो पंक्तिमा पार्ने ठानिएको छ । उच्च प्राथमिकतामा परेका बाहेक अन्य अमेरिकीले जनवरीदेखि खोप पाउन शुरू हुने र एप्रीलसम्ममा सहज उपलब्ध हुने ठानिएको छ ।

खोपबारे एफडीए के भन्छ ?
एफडीए प्रमुख स्टेफन हानले भने, ‘विश्वव्यापी विध्वंशकारी महामारीको संघर्षमा कोभिड¬–१९ विरुद्धको यो खोप पहिलो कोशे ढुङगा हो ।’
‘पारदर्शी र खुला समीक्षा’पछि खोपले सुरक्षा प्रभावकारिता र उत्पादन गुणस्तरमा वैज्ञानिक मापदण्ड पु¥याएपछि अनुमति दिइएको उनले बताए । बिहीवार विज्ञहरूले खोपमा रहेको जोखिमको तुलनामा फाइदा निकै धेरै रहेको भन्दै त्यसलाई अनुमति दिन सुझाव दिएका थिए ।

खोपले कसरी काम गर्छ ? 
फाइजर, खोप परीक्षणको अन्तिम चरणमा प्रभावकारी परिणाम देखाएको पहिलो खोप हो । यो एमआरएनए भनिने नयाँ प्रकारको खोप हो ।
यसले महामारी मच्चाइरहेको भाइरसको सानो अंशको ‘जेनेटिक कोड’ प्रयोग गर्छ र त्यसले शरीरलाई कोभिड–१९ विरुद्ध कसरी लड्ने भन्ने सिकाउँछ अनि रोग प्रतिरोधी शक्ति विकास गर्छ । ‘जब कुनै व्यक्तिले यो खोप पाउँछन् उनको शरीरले चुच्चो परेका प्रोटिनको संख्या वृद्धि गर्छ, तर त्यसले संक्रमण गराउँदैन । बरु त्यसले रोग प्रतिरोधी शक्तिलाई कोरोनाभाइरस शरीरमा प्रवेश गरेको खण्डमा बचाउ गर्ने किसिमले प्रतिक्रिया गर्न सिकाउँछ ।’
यो खोप २१ दिनको फरकमा दुईपटक दिइन्छ । दोस्रो मात्रालाई ‘बूस्टर’ भनिएको छ । पहिलो मात्रामा रोग प्रतिरोधी शक्ति बन्न थाल्छ तर दोस्रो मात्रा खोप दिएको सातदिनपछि यो पूर्ण प्रभावकारी बन्छ । खोपलाई असाध्यै कम तापक्रममा भण्डारण गर्नुपर्छ । फाइजरका अनुसार सुख्खा बरफ प्रयोग गरेर चिस्यानमा राखिएका खोपहरू खोप लगाउने स्थानसम्म पु¥याइनेछ । उत्पादक कम्पनीले मार्चसम्ममा दश करोड मात्रा खोप अमेरिकालाई उपलब्ध गराउन सहमति गरेको छ । मोडेर्ना र नेशनल इन्स्टिच्यूट अफ हेल्थले विकास गरेको थप बीस करोड मात्रा दोस्रो खोप जून महिनासम्ममा उपलब्ध गराउने भनिएको छ । तर दोस्रो खोपले अमेरिकाबाट अनुमति पाइसकेको छैन ।–बीबीसी 
 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार