विपिन जोशीको जीवनरक्षा गर्न सभामुखको अपिल 

बुधबार, पुस १८, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् । नेपालका लागि इजरायली राजदूत हनान गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन् । 
‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ राजदूतलाई भनिएको सभामुखको सचिवालयले जनाएको छ । 
सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको समेत बताए । हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ ।


भेटका क्रममा गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको उल्लेख गरे । उनले विपिन व्यक्तिगतरुपमा पनि परिचित रहेको उल्लेख गर्दै जोशीको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी गराए । 
राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखेका छन् । 
भेटमा दुई देशबीचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार