प्रधानमन्त्री कपमा कोशीले प्लेअफ खेल्ने पक्का 

आइतबार, पुस १५, २०८०

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा कोशी प्रदेश ७ विकेटले विजयी भएको छ । 
मूलपानी क्रिकेट मैदानमा कोशीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । जितसँगै कोशी दोस्रो स्थानमा रहेर प्लेअफ खेल्ने पक्का भएको छ । कोशीले ७ खेलमा १२ अंक बटुलेको छ । अपराजित रहेको एपीएफ १४ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनीको भने यो पाँचौं हार हो । लुम्बिनी तालिकाको छैटौं स्थानमा रहेर प्रतियोगिताबाट आजै बिदा भएको छ ।
आजको खेलमा लुम्बिनीले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर निर्धारित २० ओभरमा ६९ रन बनाएको थियो । जबाफमा कोशी प्रदेशले १०।२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
कोशीलाई जित दिलाउन कप्तान रुविना क्षेत्रीले ४४ रनको पारि खेलिन् । उनले ३४ बलमा ८ चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठको ब्याटबाट १३ बलमा १३ रन बन्यो । अप्सरी बेगम २ रनमा आउट हुँदा लकिता राजवंशी ५ रनमा नटआउट रहिन् । लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा मधु डिसीले एक विकेट लिइन् ।
पहिला ब्याटिङ गर्दा लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक १७ रन बनाउँदा आश्मा पुलामी मगरले १६ रनको पारि खेलिन् । अन्त्यमा मनीषा रानाले १२ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।
कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ४ विकेट लिँदा संगीता राईले २ विकेट लिइन् । यसैगरी सबनम राई, अप्सरी बेगम र एलिसा केडियाले एक–एक विकेट लिए ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार