चार खेलाडीलाई राष्ट्रिय मिक्स रिले दौडमा स्वर्ण

आइतबार, पुस १५, २०८०

काठमाडौं । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेका छन् ।  कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गर्यो । एक टिमबाट समान २–२ पुरुष÷महिला गरी खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २.५ किलोमिटर तय गर्नुपर्ने थियो ।
नेपाल प्रहरीका राममाया बूढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिरले ३३ मिनेट ४५.५६ सेकेन्ड समयमा दौड पूरा गरी दोस्रो स्थान हासिल गरे । ३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गरेका फूलमती राना, सञ्जीव नेपाली, सीमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोलीबाट तेस्रो भए ।  शीर्ष ३ स्थान हात पार्नेलाई क्रमशः ३२ हजार, २४ हजार र १६ हजार रुपैयाँ  पुरस्कार दिइएको छ । आर्मीका गजेन्द्रले पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए । निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा गजेन्द्रले तय गर्दै स्वर्ण जिते । 
रजत र काँस्य पनि आर्मीकै खेलाडीले जितेका छन् ।  मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्ड समयमा दोस्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६.८३ सेकेन्ड समयमा तेस्रो भए । सो स्पर्धामा महिलामा प्रहरीकी राममाया बूढा पहिलो भइन । १८ मिनेट ५६.३५ सेकेन्ड समयमा दौड पूरा गरी उनी पहिलो भएकी हुन् ।  आर्मीकी पूर्णलक्ष्मी १९ मिनेट १५.४८ सेकेन्ड तथा आर्मीकै सिर्जना १९ मिनेट ४०.८५ सेकेन्डसहित क्रमशः दोस्रो र तेस्रो भए । 
पुरुष÷महिला दुवैमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।  खुलासहित मिक्स रिलेमा चौथोदेखि १०औं स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।
भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेर समूहको ५ किलोमिटर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोस्रो र काठमाडौंका मनिनकुमार महर्जन तेस्रो भए । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका हुन् । 
सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित प्रशंसापत्रबाट सम्मान गरेको थियो ।
त्यसै अवसरमा एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र वैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १०–१० हजार रुपैयाँ र प्रशंसापत्रसहित सम्मान गरेको थियो । 
प्रतियोगितामा ६ स्पर्धामा २ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार