कोभिड खोप ल्याउन के गर्दैछ नेपाल 

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं । बेलायतसहित विश्वका अन्य देशमा प्रयोगका लागि औपचारिक मान्यता पाएको फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा स्वास्थ्य सेवाको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि सबैभन्दा पहिला प्रयोग हुन सक्ने अधिकारीहरूले बताएका छन् । जनसंख्याको २० प्रतिशतलाई खोप लगाउनका लागि ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन मिलेर ’कोभ्याक्स सुविधा’ अन्तर्गत नेपालमा अमेरिकी र जर्मन कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको खोप सबैभन्दा पहिले आउन सक्ने सम्भावना बढेको छ । तर यस विषयमा औपचारिक निर्णय भने भैसकेको छैन ।
‘जुन खोप कोभ्याक्स अन्तर्गत सहज रूपमा हामीलाई उपलब्ध हुन्छ त्यो लिँदै जाने गरी तयारी गरेका छौँ । फाइजर र बायोएनटेकले विकास गरेको खोप निकै कम तापक्रममा राख्नुपर्छ भन्ने छ । तर पहिलो चरणमा त्यही खोप प्राप्त हुने सम्भावना बढी छ । हामीसँग त्यसैबारे कुराकानी भएको छ’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।
‘सबै जनसंख्यालाई पुग्ने गरी माइनस ८० डिग्रीमा भन्दा तलको तापक्रममा राख्ने खोपको व्यवस्थापन नेपालमा त्यति धेरै सहज त हुँदैन । तर अग्रमोर्चामा काम गर्ने तीन प्रतिशत जतिका लागि हामीसँग केही अस्पतालहरूमा भएका भण्डारणमा खोप राख्न सकिन्छ ।’
‘हालसम्मको जानकारी अनुसार पहिलो चरणमा त्यही खोप (फाइजर र बायोएनटेकले विकास गरेको) आउँछ । त्यसभन्दापछि चाहिँ हामीसँग अलिकति मिल्दोजुल्दो र अनुमति वा प्रयोगका क्रममा अघि आएको भनिएको मोडेर्नाले बनाएको खोप हो । त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ’, सहायक प्रवक्ता डा. अधिकारीले बताए । अन्तर्राष्ट्रिय रूपमा ’कोभ्याक्स सुविधा’ सञ्चालन गर्ने विश्व स्वास्थ्य संगठन तथा गाभीसँग मन्त्रालय छलफलमा रहेको सरकारी अधिकारीहरू बताउँछन्  ।

भण्डारण क्षमताबारे संशय
कोभ्याक्स सुविधा अन्तर्गत आउने भनिएको करिब २० प्रतिशत खोपले नेपालको ६० लाख जनसंख्यालाई पुग्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
फाइजर र बायोएनटेकले विकास गरेको खोप निकै कम तापक्रममा राख्नुपर्ने र त्यस्तो सुविधा विकसित मुलुकहरूमा समेत सीमित मात्रामा रहेको विवरण प्राप्त भइरहेको अवस्थामा नेपालमा त्यसलाई भण्डारण गर्न सकिएला त भन्ने प्रश्नमा अधिकारीले भने, ‘६० लाखलाई नै पुग्नेगरि त्यो खोप ल्याउने भनिएको होइन । सुरुवातमै त्यो खोपले (केही देशमा प्रयोगको) अनुमति प्राप्त गरेको हुँदा कोभ्याक्स अन्तर्गत आउने खोप त्यहीँबाट सुरु हुनसक्नछ भन्ने हो ।’
‘हामीले पहिलो चरणमा आउने तीन प्रतिशत मध्ये केहीलाई लगाउने भनेका छौँ’, उनले भने । त्यो तीन प्रतिशतका लागि पनि आवश्यक पर्ने खोप भण्डारण गर्न सकिने क्षमता नेपालको छ त ? अधिकारी भन्छन् ‘केही–केही औषधी र खोप कम तापक्रममा राख्ने गरी केही अस्पतालहरूमा रेफ्रिजरेटरहरुको व्यवस्था गरिएको हुन्छ । त्यस अनुसार हामीलाई त्यो खोपहरू आउँदै जाँदा लगाउँदै जान सक्ने गरी राख्ने ठाउँहरू थोरै छन् । त्यसका लागि आवश्यक तापक्रम केही ठाउँमा मिलाउँदै गएका छौंँ । तर एकै पटक २० प्रतिशत नै त्यो आयो भने त राख्न सक्ने सम्भावना हुँदै हुँदैन ।’
तर मन्त्रालयकै केही अधिकारीहरूले भने खोप भण्डारणको क्षमता अनि खोप प्रयोगको अनुमतिको विषयकाबारे अनभिज्ञता पनि व्यक्त गरेका छन् । नेपालमा खोप ल्याउन, भण्डारण गर्न र खोप लगाउने व्यक्तिको पहिचान लगायतको काम गर्नका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत आठ वटा समिति गठन गरिएको छ । खोप व्यवस्थापनको प्राविधिक तयारी गर्नका लागि गठन गरिएको समितिका संयोजक, खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले कोभ्याक्सबाट विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका खोप मात्रै आउने हुनाले हालसम्म त्यस्तो अवस्था नभइसकेको बताएका छन् ।
‘त्यसकारण कोभ्याक्सको कुन खोप आउँछ भन्न सकिने अवस्था छैन’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म कोभिड–१९ विरुद्ध कुनै पनि खोप सिफारिस गरिसकेको छैन ।’ नेपालमा फाइजर र बायोएनटेकले उत्पादन गरेको खोप भण्डारण गर्ने स्थान हाल नभएको उनी बताउँछन् । ‘अहिलेसम्म हामीसँग नभएकै हो । अहिले स्वास्थ्य मन्त्रालयमा भइरहेको कुरा के हो भने कुनै पनि खोप स्वीकृत भएन र फाइजरको मात्रै रह्यो भने सुरुमा स्वास्थ्यकर्मीहरूलाई बचाउन मात्रै भए पनि संरचना बनाउनुपर्छ भन्ने विषयमा योजना बनाउने कुरा भइरहेको छ’ उनले भने ।
‘मोडेर्नाले विकास गरेको खोप भने माइनस २० डिग्रीमा भण्डारण गर्न सकिने हुँदा अलिकति कम लागतमा पूर्वाधार बढाउन सकिने अवस्था छ’ उप्रेतीले भने । नेपालमा दुई देखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने प्रकारको खोप उत्तम हुने उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप आपूर्तिबारे नेपालको आफ्नै मापदण्ड रहेको बताएका छन् । ‘खोप कम्तीमा पनि २० प्रतिशतका लागि उपलब्ध हुनप¥यो, सस्तो हुनुप¥यो, सम्बन्धित देशका जनताहरूलाई लगाएको हुनुप¥यो, दुई देखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सक्ने हुनुप¥यो र त्यो खोप प्रभावकारी देखिनुप¥यो । त्यस्तो खोप मात्रै हामीले ल्याउने हो’, हालसम्म कुन खोप नेपालमा पहिले आउला भन्ने विषय स्पष्ट नभएको बताउँदै उनले भने ।

प्राथमिकतामा को ?
पहिलो चरणमा प्राप्त भएको खोप अग्रमोर्चामा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई दिइने र त्यो अस्पतालमा आधारित हुने अधिकारीहरू बताउँछन् । सजिलैसँग संक्रमित हुन सक्ने र अरूलाई सार्नसक्ने अनि रोग प्रतिरोध गर्ने क्षमता कम भएकाहरूलाई पनि पहिलो चरणमा प्राथमिकता दिइने बताइएको छ । त्यसपछि आउने सम्भावना देखिएको मोडेर्नाले विकास गरेको खोप भने विशेषतः रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरूलाई लगाउँदै जाने बताइएको छ । तर फाइजर र बायोएनटेकले विकास गरेको खोप पनि कहिले आउँछ भन्ने विषयमा भने स्पष्टता देखिँदैन । गत महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वबजारमा उपलब्ध भएसँगै नेपालमा पनि आउँदो मार्च महिनासम्ममा खोप आइपुग्ने बताएका थिए ।–बीबीसी 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार