थप ९ हजार ३ सय जनामा कोरोनाभाइरस, १६८ जनाको मृत्यु

बुधबार, वैशाख २९, २०७८

काठमाडौं । नेपालमा थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १६८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा संख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको संख्या एक लाख नाघेको छ । अहिले काठमाडौं उपत्यकामा ४१ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरि गत सोमवारयता ५८,५८१ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २७,६८२ वटामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङकले परीक्षण गर्न गएका मानिसमा संक्रमण पुष्टि हुने दर उच्च छ । सो अवधिमा १३,६७६ जना संक्रमणमुक्त भएका छन् ।

चौबीस घण्टाको अवधिमा ४,४४४ जना मानिस कोभिड–१९ मुक्त भएका छन् । हालसम्मको नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुने दर ७४.९ प्रतिशत छ । अहिले काठमाडौं उपत्यकामा ३,९२४ संक्रमित फेला परेका हुन् । तीमध्ये काठमाडौं जिल्लामा सर्वाधिक ३,२५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।  रूपन्देहीमा ७७१, ललितपुरमा ४४८, मोरङमा ३६०, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५, भक्तपुरमा २२६, चितवनमा २०४ र झापामा २०० जानमा पनि संक्रमण पुष्टि भएको छ । बुधबार अपराहनसम्मको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितमध्ये ७,२९१ जना संस्थागत आइसोलेशनमा र बाँकी ९४,३४३ जना घरमै बसिरहेका छन् । तीमध्ये २८५ जना भेन्टिलेटरमा भएकासहित १,२४१ जना आईसीयूमा छन् । उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या बढी छ । सरकारले गत साता मङ्गलबार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधबार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको थियो । त्यसैगरी आइतवार ८,८५० जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्रमण र १३९ जनाको मृत्यु तथा मङ्गलवार ९,४८३ जनामा सङ्क्रमण र २२५ जनाको मृत्यु भएको थियो । सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको संख्या सर्वाधिक छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार