भ्याक्सिन भण्डारणका लागि २ वटा प्रदेशमा कोल्डचेन बनाउने सरकारको योजना 

बुधबार, मंसिर २४, २०७७

काठमाडौं । सरकार कोभिड–१९ भ्याक्सिन नेपाल भित्र्याउनका लागि आवश्यक तयारीमा जुटेको छ । भ्याक्सिन आएपछि त्यसको उचित भण्डारणका लागि पूर्वाधार र संरचनाको समेत विश्लेषण सुरु गरिसकेको छ । विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्थाहरुको समन्वयमा बनेको कोभ्याक्स फ्यासिलिटिमार्फत २० प्रतिशत भ्याक्सिन सहयोग हुने भएपछि बाँकी भ्याक्सिन आफँै खरीद गर्ने योजना सरकारको छ । हाल केन्द्रमा र पाँचवटा प्रदेशमा कोल्डचेन भए पनि दुई वटा प्रदेशमा भने कोल्ड चेन छैन । प्रदेश २ र कर्णाली प्रदेशमा कोल्डचेन आवश्यक भएकाले निर्माण गर्नुपर्ने योजनामा सरकार छ । सरकारद्धारा गठित कोभिड भ्याक्सिन सचिवालयले भ्याक्सिन भण्डारणका लागि दुई प्रदेशमा कोल्डचेन निर्माण गर्नुपर्ने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  पेस गर्न लागेको छ । सचिवलयका एक सदस्यले भने,‘अहिले हामीसँग पहिलेकै संरचना छ । साविकको ५ विकास क्षेत्रमा मात्र कोल्ड चेन रहेकाले कोल्डचेन नभएका प्रदेश २ कर्णालीमा कोल्डचेन आवश्यक छ ।’ उनका अनुसार तत्काल कोल्डचेन निर्माण नसकिँदासम्म प्रदेश २ मा हेटौँडा र कर्णाली प्रदेशका लागि नेपालगन्जमा रहेको कोल्डचेनबाट व्यवस्थापन गर्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ । नेपाल सरकारले माइनस २० डिग्री सेल्सियससम्म भण्डारण गर्न मिल्ने भ्याक्सिनका लागि तयारी गरेको छ । त्यसका लागि कोल्डचेनको क्षमता बिस्तार गर्न ४ करोड रुपैयाँ बजेट समेत विनियोजन भइसकेको छ । नेपालमा हाल २ देखि ८ डिग्री सेल्सियससम्ममा मात्र भ्याक्सिन भण्डारण गर्ने क्षमता छ । स्वास्थ्य मन्त्रालयद्धारा गठित कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा.श्यामराज उप्रेतिले २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्ने भ्याक्सिन आएमा कोल्डचेन थप गर्नु नपर्ने बताए । नेपालमा अहिले नै कुन देश वा कम्पनीले उत्पादन गरेको कोभिड भ्याक्सिन आउने छ भन्ने टुंगो छैन । तर, कोभ्याक्सले उपलब्ध गराउने भ्याक्सिनका आधारमा बाँकी भ्याक्सिन खरीद गर्ने सरकारको मनसाय छ । कोभिड भ्याक्सिन सचिवालयका एक सदस्यका अनुसार नेपालमा पहिला कोभ्याक्सकै भ्याक्सिन आउने छ । ‘कोभ्याक्सले कुन भ्याक्सिन दिन्छ, त्यसपछि बाँकी भ्याक्सिन ल्याइने छ । सरकारले नागरिकलाई एकै प्रकारको भ्याक्सिन उपलब्ध गराउन कोभ्याक्सले दिएकै भ्याक्सिन आवश्यकता अनुसार पछि ल्याउने विषयमा पनि छलफल अगाडि बढाएको छ’ उनले भने ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार