कोरोना भाइरस संक्रमणको डर लाग्दो तस्बिर

स्वास्थ्य मन्त्रालय भन्छ, ‘३० लाख मानिस संक्रमित छन्’ 
बुधबार, मंसिर २४, २०७७

काठमाडौं । स्वास्थ्य मन्त्रालयले गरेको परीक्षण सर्वेक्षणको प्रारम्भिक परिणामले नेपालमा ‘घरमै बसिरहेका’ १० प्रतिशत मानिसमा पनि कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुन सक्ने देखाएको छ । ती मानिसहरू आफू सङ्क्रमित रहेको थाहा नभएर घरमै बसेका र सङ्क्रमितको सरकारी तथ्यांकमा त्यो संख्या नजोडिएको मन्त्रालयको भनाइ छ । एकजना जनस्वास्थ्यविद्ले सो सर्वेक्षणको नतिजाको विश्लेषणले ‘झण्डै ३० लाख नेपालीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको हुनसक्ने’ देखाउने बताएका छन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा नेपालका सातै प्रदेशका ७७ मध्ये ७५ वटा जिल्लामा गरिएको रगत परीक्षण सर्वेक्षणले त्यस्तो नतिजा देखाएको हो ।
सङ्क्रमणको दायरा फराकिलो
‘सेरोसर्भेइलेन्स’ भनिने त्यस्तो परीक्षणको निम्ति प्रत्येक प्रदेशबाट ४५० वटा नमुना संकलन गरिएको थियो । जसमा भाइरसविरुद्ध लड्ने ‘एन्टिबडी’ विकास भएको छ कि छैन भन्ने हेरिएको थियो । नेपाल जनस्वास्थ्य संघका पूर्वअध्यक्ष भोगेन्द्र डोटेलका बुझाइमा सर्वेक्षणले सबै स्वीकृत मापदण्ड पूरा गरेको छ भने त्यसले नेपालमा सङ्क्रमणको दायरा सरकारी तथ्यांकमा भनिने गरेभन्दा निकै फराकिलो रहेको देखाउँछ । पूर्वसरकारी स्वास्थ्य अधिकारी समेत रहेका जन–स्वास्थ्यविद् डोटेल भन्छन्, ‘सेरोसर्भेइलेन्स पनि ‘दुईवटा सिता छामेर भात पाक्यो कि पाकेन भनेर ठम्याए जस्तै’ थोरै संख्यालाई हेरेर ठूलो संख्यामा अनुमान गर्नु हो ।’ ‘त्यसरी हेर्दा ३० लाख नेपाली सङ्क्रमित भइसकेको देखिन्छ । यो त ठूलो संख्या हो’ उनले भने ।
‘सङ्क्रमित भएकै थाहा हुन्न’
महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार बालकदेखि बृद्धसम्म सबै उमेर समूहमा ‘एन्टिबडी’ देखिएको छ । त्यसले उनीहरूमा कुनै बेला सङ्क्रमण भइसकेको थियो भन्ने जनाउँछ । त्यस्ता मानिसहरूलाई लक्षण नभएकाले आफूलाई रोग लागेको थाहा नै हुँदैन । र, ती सरकारी अभिलेखमा पनि समावेश भएका हुँदैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनभाइसका ८० प्रतिशत सङ्क्रमितमा रोगको कुनै लक्षण नदेखिने गरेको पाइएको छ । त्यसैले नेपालमा पनि सङ्क्रमित भएर पत्तो नपाएका मानिसको संख्या धेरै हुनसक्ने ठानिन्छ । समुदायस्तरमा सङ्क्रमण भए नभएको वा त्यसको स्तर पत्ता लगाउन मानिसहरूको ‘एन्टिबडी’ जाँच्ने ‘सेरोसर्भेइलेन्स परीक्षण’ गरिएको हो ।
काठमाडौं र प्रदेश २ अगाडि
हिमाल र पहाडको तुलनामा तराईका जिल्लामा त्यो संख्या धेरै देखिएको बताउँदै डा. पाण्डेले भने, ‘यसबाट धेरैजसो मानिसहरू सङ्क्रमण भएपनि घरमा बसेका छन् भन्ने देखिन्छ ।’ सर्वेक्षणले स्थान विशेषमा समुदायस्तरमा महामारी फैलिएको देखाएको छ ।
‘काठमाडौं र प्रदेश २ मा समुदायमा फैलिएको देखाउँछ तर देशव्यापी रूपमा समुदायमा फैलिएको भन्न मिल्दैन । ठाउँ अनुसार अवस्था फरक छ’, निर्देशक पाण्डेको भनाइ छ । उक्त सर्वेक्षण नेपालमा सङ्क्रमितको संख्या निकै बढेका बेला भएको थियो । त्यसैले थप बिस्तृत अध्ययन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।–बीबीसी 
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार