अक्सिजन सहज रुपमा उपलव्ध गराउन कार्यदल 

स्वास्थ्यको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण
आइतबार, वैशाख २६, २०७८

काठमाडौं । सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलको निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह र  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक  चिकित्सक रहेका छन् । कार्यदलले अस्पतालमा सङ्क्रमितका लागि अक्सिजन उपलब्ध गराउने छ ।  नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउन थालेको छ । 

यी नम्बरमा फोन गर्नुहोस्
सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई  ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  

स्वास्थ्यको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

स्वास्थ्य मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।  मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।  मन्त्रालयकोविपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा.गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेका हुन् । ‘

कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।  मन्त्रालयले कान्तिपुर अक्सिजन प्रालि, सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नवज्योति अक्सिजन प्रालि, हाम्रो अक्सिजन प्रालि, सोपान फर्मास्युटिकल्स प्रालि, हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शंकर अक्सिजन प्रालिलगायत सबै अक्सिजन ग्यास आपूर्तिकर्तालाई पत्र लेख्दै मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन बिक्री गर्न अनुरोध गरेको छ ।  सूचनामा मन्त्रालयको सिफारिसविना बिक्री वितरण गरिएको पाइएमा कारवाही गर्नेसमेत जनाइएको छ ।  सरकारले अक्सिजनको अभाव हुन नदिनका लागि चीनसरकारबाट २० हजार खालीअक्सिजनसिलिण्डर ल्याउन थालेको छ । पहिलो चरणमा ४०० खाली अक्सिजन सिलिण्डर ल्याउन यही वैशाख २७ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदैछ । नेपालमा अहिले अक्सिजन सिलिण्डरको सङ्ख्या छ हजार २८८ रहेको छ । दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको छ ।–रासस 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार