थप ८८ सय जनामा कोरोना भाइरस सङ्क्रमण

कोरोनाका कारण एकै दिन ८८ जनाको मृत्यु
आइतबार, वैशाख २६, २०७८

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ८,८५० जनामा कोरोनाभाइरस संक्रमण भएको छ । सोही अवधिमा ८८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । यो संख्याले नेपालमा एकै दिन सार्वधिक मृत्यु भएको देखाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सार्वजनिक गरेको दैनिक कोरोना भाइरस संक्रमण विवरणमा ‘नेपाली सेनाले शव व्यवस्थापन तथ्यांकको आधारमा कोभिड–१९ सम्बन्धी कारणले मृत्यु भएकाको थप तथ्याङ्कका’  आधारमा मृतकको संख्या ८८ पुगेको जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको संख्या ४,००० भन्दा बढी छ ।  कुल १९,३८७ जनाको पीसीआर विधिसहित एन्टिजेन विधिबाट परीक्षण गर्दा अहिले त्यति संख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । मन्त्रालयले प्रकाशित गरेको विवरणमा ‘सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्याङ्कको आधारमा’ मृतकको संख्या थप भएको उल्लेख छ ।
सोमवार अपराह्न मन्त्रालयले गरेको ब्रिफिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले २४ घण्टामा मृत्यु पुष्टि भएका ५२ जनाबाहेक मृतकको संख्या २६ ले बढेको बताएका थिए । मन्त्रालयको पछि प्रकाशित गरेको विवरणका आधारमा पहिला प्रकाशित संख्यामा संशोधन गरिएको छ । चौबीस घण्टाको अवधिमा ४,०२२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

कहाँ छन् सङ्क्रमित ?
अहिले देशभरि ८८,००० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ । तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको संख्यासर्वाधिक छ । मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा २७,६६० जना, ललितपुरमा ६,०१० जना र भक्तपुरमा ३,९१२ जनामा सक्रिय सङ्क्रमण छ । सक्रिय सङ्क्रमितमध्ये ६,७३० जना संस्थागत आइसोलेशनमा र बाँकी ८१,००० जनाभन्दा बढी घरमै आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस ब्रिफिङमा बताए । अहिले देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा भएको उनले बताए । सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु अनि शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ । सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको संख्या सर्वाधिक छ ।

के छ भारतको अवस्था ?
आइतवार बिहान ८ बजेसम्मको तथ्याङ्कका अनुसार भारतमा अहिले ३७ लाख ३६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । अहिलेसम्म सङ्क्रमित हुनेको कुल संख्या दुई करोड २३ लाखको हाराहारीमा रहेका बेला मृत्यु हुनेको कुल संख्या २,४२,०० नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरि ४,०३,७३८ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा थप ४,०९२ जनाको मृत्यु भएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा २४ घण्टामा २६,६३६ सङ्क्रमित थपिएका छन् । उक्त वृद्धिसँगै उक्त राज्यमा सङ्क्रमितको कुल संख्या १४ लाख ८० हजार नाघेको छ । अहिले २,४५,७३६ सक्रिय सङ्क्रमित रहेको उत्तर प्रदेशमा कुल १५,१७० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । त्यस्तै पश्चिम बङ्गालमा १९,४३६ सङ्क्रमित थपिएका छन् । त्यहाँ सङ्क्रमितको कुल संख्या ९,७३,७१८ र मृतकको कुल संख्या १२,२०३ पुगेको सरकारी तथ्याङ्क छ । बिहारको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२,९४८ संक्रमित थपिएका छन् । त्यहाँ सङ्क्रमितको कुल संख्या ५,८०,२१७ पुगेको छ । त्यहाँ अहिलेसम्म ३,२१५ जनाको मृत्यु भएको सरकारले जनाएको छ । उत्तराखण्डमा ७१,१७४ सक्रिय सङ्क्रमित छन् । नयाँ तथ्याङ्क प्रकाशित हुँदा त्यहाँ ८,३९० सङ्क्रमित थपिएको देखिएको छ । त्यहाँ मृतकको संख्या ३,५४८ पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार