८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण, ५३ जनाको मृत्यु

शनिबार, वैशाख २५, २०७८

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप थप ८,४१८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । हालैका दिनहरूमा सङ्क्रमण घटेको यो पहिलो पटक हो । शुक्रवार ९,१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ५३ जनाको कोभिड–१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ । हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा ३,३७० जना संक्रमणमुक्त भएका छन् ।

काठमााडौं उपत्यकामा सर्वाधिक संख्यामा संक्रमित फेला पर्ने क्रम जारी छ । रूपन्देहीमा पनि ठूलो संख्यामा संक्रमण पुष्टि भएको छ । सरकारको तथ्याङ्कअनुसार शनिबार अपराहनसम्म देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेका छन् । अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । कुल १८,३०४ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति संख्यामा संक्रमितहरू फेला परेका हुन् । मन्त्रालयका अनुसार शनिवार काठमाडौं जिल्लामा २,२७० जना, ललितपुर जिल्लामा ४६२ र भक्तपुरमा ३८१ जनामा कोभिड पुष्टि भएको हो । त्यसैगरी झापामा २७६, मोरङमा २५४, कास्कीमा २८५, दाङमा ३६६, बाँकेमा ५५५, रूपन्देहीमा ८६१ र सुर्खेतमा ५९७ जनामा पनि संक्रमण पुष्टि भयो ।

२७ सांसद संक्रमित
गत बुधवार र बिहीवार सांसदहरूसहित १,२३५ जनाको संसद् भवन नयाँ बानेश्वरमा गरिएको परीक्षणमा १६० जनामा संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार २०५ जना सांसदको परीक्षण गरिएकोमा प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एक जना गरी १९ जना सांसदमा संक्रमण पुष्टि भएको हो । दुई मन्त्रीसहित आठ सांसद यसअघि नै संक्रमण पुष्टि भई आइसोलेशनमा रहेका छन् । बाँकी १,०३० जना संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र संसद् भवनका कर्मचारीको परीक्षण गरिएको थियो ।

२२ जिल्लामा ५०० भन्दा बढी
हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक–एक जिल्लामा अहिले उच्च संख्यामा सक्रिय संक्रमित रहेका छन् ।  थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । शुक्रबार पुष्टि भएको सङ्क्रमितहरूमध्ये १९५ जना १० वर्षभन्दा मुनिका, ५६१ जना १० देखि १९ वर्षका र ३,९४५ जना २० देखि ३९ वर्षका छन् । त्यस्तै ४० देखि ४९ वर्षका १,५४०, ५० देखि ५९ वर्षका १,११८ र ७० वर्षभन्दा माथिका ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित
अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३५,६७८ जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय संक्रमित छन् । काठमाडौं २६,४२६, भक्तपुरमा ३,५४० तथा ललितपुरमा ५,७१२ सङ्क्रमित छन् । उपत्यकामा भएका सक्रिय सङ्क्रमितको संख्या देशभरि भएका सङ्क्रमितको कुल संख्याको ४२.७ प्रतिशत हो । राजधानी उपत्यकामा अहिलेसम्म १,२२३ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । तीमध्ये काठमाडौंमा ८२०, भक्तपुरमा १७२ तथा ललितपुरमा २३१ जनाको मृत्यु भएको छ । यो देशभरि कोभिड–१९ का कारण मृत्यु हुनेको कुल संख्याको एकतिहाइ हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार