उठेन सिंहदरबारदेखि शीतलनिवाससम्मका फोहोर

१४ वटा माग पूरा नगरेसम्म सिंहदरबारको फोहोर उठ्दैन : महानगर प्रमुख साह

संघीय सरकारलाई मेयर साहको जवाफ
बिहीबार, चैत ३०, २०७९

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफूले उठाएका १४ बुँदे माग पूरा नभएसम्म सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने अडान लिएका छन् ।
संघीय सरकार मन्त्रिपरिषद्को बैठकले साहका गतिविधिलाई अराजक भन्दै सचेत गराउने निर्णय गरेको भोलिपल्ट मेयर साहले आफ्ना मागबारे वार्ता नभएसम्म फोहोर नउठाउने अडान कायमै राखेका हुन् ।
महानगर प्रमुख साहले सोमबार अघि सारेका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आएर पूरा गर्न तयार नभएसम्म सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेका छन् ।
महानगरले उठाएका १४ बुँदे मागलाई सम्बोधन गर्न संघीय सरकार तयार नभएसम्म यसअन्तर्गतका तीनै ठाउँको फोहोर नउठाउने निर्णय यथावत रहेको महानगरका पदाधिकारीले बताएका छन् ।
सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालयको फोहोर नउठे पनि सर्वसाधारणको रोकिएको छैन ।

 

balen_121662558447.jpg

यी हुन् मेयरले उठाएका सवाल
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी-३ मन्त्रीसँग पटकपटक पहल, सहमति भएर माइन्युटसमेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय: विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार।

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टीभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा-दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरि सेवा दिनलाई बजेट व्यवस्थापन-दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल-दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनुपर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्गरी र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटकपटक पहल।

७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटकपटक पहल।

८. भौतिक याेजना  : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन-दुई मन्त्रीहरूसँग पटकपटक पहल ।

९. सूचना तथा सञ्चार : आईएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल ।

१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल ।

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल।

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण- मन्त्रीसँग पटकपटक पहल।

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटकपटक पहल ।

१४. कृषि  मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटकपटक पहल ।

कामपाले थाल्यो रात्रिकालीन अनुगमन

सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ । बिहीबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो ।  
जरिवाना असुल गरी उक्त गाडीलाई फोहर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो ।
वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।
फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवानासमेत तिराउने गरेको छ ।
कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।
उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार