गोदावरी नगरपालिका मर्यादित महिनावारीमैत्री नगर बन्दै

तालिमका सहभागीले भने, ‘नबुझेर पो छुइन्छ भन्दै भान्साकोठा नपसेका रहेछौं’
बुधबार, चैत २९, २०७९

ललितपुर (लेले) । गोदावरी नगरपालिका वडा ६ की महिला स्वास्थ्य स्वयंसेविका सवित्री खड्का कार्यक्रममा तालिमको अनुभव सुनाउन पुग्दा निर्धक्क देखिन्थिइन् । तालिम समापन कार्यक्रममा उनले महिनावारी प्राकृतिक कुरा भएको बताइन् । उनले भनिन्, ‘महिनावारी भनेको सन्तान जन्माउन योग्य हुनु हो, हामीले नबुझेर भान्साकोठामा नगएका रहेछौं, छुइन्छ भनेका रहेछौं ।’ महिनावारीप्रतिको भ्रम त्याग्न उनले सबैलाई सल्लाह दिइन् । स्वयंसेविकाको भूमिकामा घर, टोल पुग्दा महिनावारीका बारेमा व्याप्त भ्रम चिर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन । तालिममा भाग लिएपछि महिनावारीका बारेमा धेरै कुरा बुझेको बताउँदै उनले आफूमा रहेको भ्रम हटेको प्रष्ट पारिन् । ‘अहिले मलाई लागिरहेको छ, हामी बिना कारण चोटाकोठा नगएका रहेछौं, छोइन्छ भनेर बसेका रहेछौं, यो लाजको विषय होइन नि, प्राकृतिक कुरा पो हो त ।’

340361197_1050361119272886_2436854487546586511_n1681311163.jpg
गोदावरी नगरपालिका वडा नंं.५ र हार्ट टु हेल्प संस्थाले मर्यादित महिनावारीका बारेमा बुझाउन संयुक्त रुपमा आयोजना गरेको दुईदिने तालिमको उनी एक सहभागी थिइन् ।
गोदावरी नगरपालिकाको वडा नं ५ मा अवस्थित गंगाजमुना माध्यमिक विद्यालयकी शिक्षिका सुप्रिया थापाले महिनावारी भएकी महिलालाई ‘छुइन्छ‘ भन्नु, भान्साकोठा, अन्यकोठा जान नदिनु विभेद भएको बताइन् । महिनावारी हुनु भनेको गर्वको विषय भएको बताउँदै उनले महिनावारीले महिलालाई मान्छे जन्माउन सक्ने क्षमता दिएको बताइन् । तालिममा आफूले सिकेको कुरा विद्यार्थीलाई सिकाउने, आफ्ना साथीभाइलाई बुझाउने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् ।
राधा फाउन्डेसनकी अध्यक्ष तथा मर्यादित महिनावारीको अभियन्ता राधा पौडेलले सानो जस्तो लाग्ने तर महत्वपूर्ण विषयलाई प्राथमिकता दिएकोमा नगरपालिकालाई धन्यवाद दिइन् । उनले भनिन्, ‘नगरप्रमुख र वडाअध्यक्षज्यू को उपस्थितिले नै उहाँहरुले यो विषयलाई धेरै प्राथमिकता दिनुभएको प्रष्ट हुन्छ, उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ । उनले नगरप्रमुख गजेन्द्र महर्जनलाई मर्यादित महिनावारीबारे चेतना जगाउने कार्यक्रम वडा वडामा संचालन गर्न सुझाव दिइन् । डा. पौडेलले भनिन्, ‘गोदावरी नगरपालिकामा मर्यादित महिनावारीको बारेमा जानकारी दिइएको बोर्ड राख्नुहोस् , यसो गर्दा यो विषयलाई बुझाउन सजिलो हुन्छ ।’ वडापिच्छे, टोलैपिच्छे यस्ता कार्यक्रम राखेर यो विषय बुझाउनुपर्ने बताउँदै उनले गोदावरी नगरपालिकालाई मर्यादित महिनावारीमैत्री नगरपालिका बनाउन सुझाव दिइन् । महिनावारी भएको बेलामा विभेद गर्दा संविधानले प्रदान गरेको १२ भन्दा बढी मौलिक हक हनन हुने पौडेलले जानकारी दिइन् ।

339258401_3363757713884065_7955729658023206023_n1681311161.jpg
नगरप्रमुख गजेन्द्र महर्जनले महिनावारी प्राकृतिक विषय भएको बताउँदै महिनावारी हुँदा विभेद गर्न नहुने बताए । नगरपालिकामा मर्यादित महिनावारीका बारेमा चेतना जगाउने बोर्ड राख्न सकिने बताउँदै त्यसका लागि छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । वडा नंं.५ का वडा अध्यक्ष एवम गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले भौतिक पूर्वाधार निर्माण मात्रले सहरको विकास नहुने बताउँदै नगरपालिकाले स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
उनले भने, ‘नगरपालिकाले कार्यक्रम बनाउँदा, बजेट विनियोजन गर्दा अधिकारमुखी अवधारणालाई प्राथमिकता दिन्छौं,’ महिनावारी प्राकृतिक विषय भएको बताउँदै महिनावारीप्रतिको अन्धविश्वास हटाउनुपर्ने धारणा राखे । नगरवासीमा महिनावारीसम्बन्धी अन्धविश्वास हटाउँदै, यो विषय बुझाउँदै छलफल गरेर गोदावरी नगरपालिकालाई मर्यादित महिनावारीमैत्री नगरपालिका घोषणा गरिने सिल्वालले बताए । राधा फाउन्डेसनले सहजिकरण गरेको उक्त तालिम सेती फाउण्डेसनको सहयोगमा आयोजना गरिएको थियो । तालिममा २२ जना सहभागी थिए । तालिममा सहभागी मध्ये गोदावरी नगरपालिकाका वडा नंं.५, ६ र ७ का १८ जना महिला स्वास्थ्य स्वयंसेविका थिए । यसका साथै वडा नंं.५ मा रहेको गंगाजमुना माध्यमिक विद्यालयका ४ जना शिक्षिकाले पनि मर्यादित महिनावारी सम्बन्धी तालिम लिएका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार