चिकित्सकको लापरवाहीले नवजात शिशुसहित सुत्केरीको मृत्यु भएको भन्दै अत्तरियामा प्रदर्शन

प्रहरीद्धारा अश्रुग्यास प्रहार
मंगलबार, चैत २८, २०७९

कैलाली । कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरवाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो ।
लापरवाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाही गर्नुपर्ने तथा मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै गरिएको प्रदर्शनका क्रममा आज पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध भएको हो । 
अवरुद्ध सडक खुलाउन स्थानीयमाथि प्रहरीले बल प्रयोग गर्दा सो क्षेत्र तनावग्रस्त बनेको हो । प्रहरीले प्रदर्शकारीमाथि हस्तक्षेप गरी सडक सञ्चालनमा ल्याएको थियो । 
प्रहरी हस्तक्षेपको आक्रोशमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । स्थानीयको आक्रोशलाई साम्यम पारी स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।  आश्रुग्यास प्रहरपछि प्रदर्शनकारीलाई तितरबितर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 
प्रसूति सेवाका लागि मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित आइतबार मृत्यु भएको थियो । घटनालगत्तैबाट स्थानीयवासीले प्रदर्शन गरेका थिए । लक्ष्मी र नवजात शिशुको शव उठेको छैन । पीडित पक्ष, अस्पताल प्रशासन र गोदावरी नगरपालिकाबीच समस्या समाधानका लागि छलफल भने जारी छ । 
आइतबारको छलफलमा अस्पतालले आफ्ना मागमा सुनुवाइ नगरेको भन्दै पीडित पक्षले शव उठाउन मानेको छैन । छलफलका क्रममा छानबिन समिति गठन गर्ने भनिए पनि समिति गठन भएको छैन । 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार