कोरोना भाइरसको ‘डबल म्यूटन्ट भेरिअन्ट’ का कारण भारतमा ‘सङ्क्रमण बढेको हुन सक्ने’ अनुमान

बिहीबार, वैशाख २३, २०७८

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको एउटा उत्परिवर्तित प्रकारका कारण महामारीको घातक दोस्रो लहर फैलिएको हुनसक्ने अनुमान गरिएको छ । भारतमा गत मार्च महिनामा पहिलो पटक ‘डबल म्यूटन्ट भेरिअन्ट’ अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको थियो । सङ्क्रमितको संख्या उच्च रहेका विभिन्न राज्यबाट सङ्कलित नमुनामा बी.१.६१७ नाम दिइएको उक्त भेरिअन्ट देखा परेको छ । यद्यपि भारतको नेशनलसेन्टर फर डिजीज कन्ट्रोलका एक अधिकारीले कोरोनाभाइरसको उत्परिवर्तित रूपसँग कोभिड–१९ को दोस्रो लहरको सम्बन्ध पूर्ण रूपमा स्थापित हुन बाँकी भएको बताएका छन् । भारतमा बुधवार २४ घण्टाको अवधिमा ४ लाख १२ हजार जनामा अर्थात् अहिलेसम्मकै सर्वाधिक संख्यामा सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा ३,९८० जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

तेस्रो लहरको सम्भावना कस्तो ?
भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारले कोभिड महामारीको तेस्रो लहर अवश्यम्भावी भएको बताएका छन् । स्वास्थ्य मन्त्रायलको ब्रीफिङमा बोल्दै के विजयराघवनले कोरोनाभाइरस सङ्क्रमणको संख्या यति ‘उग्र’ होला भन्ने विज्ञहरूले पूर्वानुमान गर्न नसकेको स्वीकार गरे । ‘भाइरस ठूलो मात्रामा प्रसारित भएकाले तेस्रो चरण अवश्यम्भावी छ’ उनले भने, ‘तर तेस्रो चरण कुन समयमा हुन्छ भन्ने स्पष्ट छैन । हामीले नयाँ लहरहरूका लागि तयारी गर्नुपर्छ ।’ अहिले चलिरहेको प्रकोपका कारण भारतको स्वास्थ्यप्रणाली अस्तव्यस्त भइसकेको छ । अस्पतालहरू तथा मसानघाटहरूले चाप थेग्न सकिरहेका छैनन् । धेरै ठाउँमा मेडिकल अक्सिजनको अभाव देखिएको छ । विभिन्न राज्यहरूले स्थानीय तहमा निषेधाज्ञा र लकडाउन गरेका छन् । देशको अर्थतन्त्र प्रभावित हुने भयका कारण संघीय सरकार देशभरि लकडाउन लगाउन अनिच्छुक देखिएको छ ।

डबल म्यूटन्ट भेरिअन्ट कहाँ फेला प¥यो ?
आठ राज्यबाट सङ्कलित नमुनामध्ये झन्डै १३ हजार वटाको जीन सीक्वन्सिङ गर्दा झन्डै ३ हजार ५०० वटाभन्दा केही बढीमा कोरोनाभाइरसका उत्परिवर्तित भेरिअन्टहरू भएको पत्ता लाग्यो । एक महिनाभन्दा अघिदेखि दिल्लीले अहिले सङ्क्रमण बढ्नुमा बी.१.६१७ सङ्केत दिइएको दोहोरो उत्परिवर्तन भएको प्रकारको कुनै सम्बन्ध नभएको दाबी गरिरहेको थियो । अधिकारीहरूले अहिले कोरोनाभाइरसको प्रकोप बढ्नुमा यूके, अफ्रिकी र ब्रजिलियन भेरिअन्टको सम्बन्ध भएको कुरा पनि स्वीकारेका छैनन् । भाइरसविज्ञ डा. शाहिद जमीलले भारतले भाइरसमा हुने उत्परिवर्तनबारे धेरै ढिलो ध्यान दिएको बताएका छन् ।  उनका अनुसार फेब्रुअरी महिनाको मध्यतिर मात्रै भाइरसको आनुवंशिक संरचना सीक्वन्सिङ गरेर अध्ययन गर्न थालियो । भारतमा अहिले सङ्कलित नमुनामध्ये एक प्रतिशतजतिको मात्र सीक्वन्सिङ गरिन्छ । ‘यूकेले महामारी उत्कर्षमा पुग्दा ५.६ प्रतिशत नमुनाको सीक्वन्सिङ गथ्र्याे । तर त्यो क्षमता अहोरात्र बनाउन सकिँदैन’ उनले भने । संघीय सरकारले कोरोनाभाइरसको उत्परिवर्तनसँग अहिले सङ्क्रमण फैलिनुको सम्बन्ध भए पनि त्यो ‘पूर्ण रूपमा प्रमाणित’ हुन बाँकी भएको बताएको छ । ‘यसको एपिडिमिअलजिकल र क्लिनिकल सम्बन्ध पूर्णतः स्थापित भइसकेको छैन । सहसम्बन्धबिना हामी संख्या बढ्नुसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्न सक्दैनौं’ नेशनल सेन्टर फोर डिजीज कन्ट्रोलका सुजित सिंहले भने । तर हामीले राज्यहरूलाई जनस्वास्थ्यसम्बन्धी प्रतिकार्य–परीक्षण, तत्काल आइसोलेशन, भिडभाड नियन्त्रण र खोप बढाउन सुझाव दिएका छौँ उनले भने । 

भारतको अहिलेको अवस्था कस्तो छ ?
उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्णाटकसहित केही राज्यमा बुधबार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भयो । महामारी फैलिएदेखि धेरै प्रभावित महाराष्ट्र राज्यमा ९२० जनाको कोभिड–१९ का कारण २४ घण्टाको अवधिमा मृत्यु भएको तथ्याङ्क छ । तर विज्ञहरूले परीक्षणको संख्या घटेको तथा मृत्युबारे पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिकभन्दा वास्तविक संख्या धेरै बढी हुन सक्ने औँल्याएका छन् । विश्व स्वास्थ्य संगठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका सङ्क्रमितको संख्या विश्वभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्याको झन्डै आधा र मृतकको संख्या एकचौथाइ भएको उल्लेख गरेको छ ।

कोभिड खोप अभियान के हुँदैछ ?
भारतलाई आफूले सुरु गरेको महत्वाकाङ्क्षी खोप अभियानलाई निरन्तरता दिन गाह्रो भइरहेको छ । जुलाई महिनासम्म ३० करोड नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने उसको लक्ष्य थियो । तर खोपको अभाव भएकाले अभियान प्रभावित भएको छ । भारतमा कोभिड खोपको अभाव अझै केही महिना लम्बिन्छ । भारतसँग भएको खोपको भण्डार पनि निख्रिन लागेको छ । अहिले भारत सरकारले खोप दिने भनेका ४५ वर्षमुनिका वयस्कहरू खोपका लागि आफ्नो नाम लेखाउन र मिति लिन संघर्ष गरिरहेका छन् । विज्ञहरू लकडाउन लगाउनु र खोप उपलब्ध गराउनु नै अहिलेको विकल्प भएकोमा जोड दिन्छन् । तर सरकारले कोरोनाभाइरस विस्तार रोक्न तत्काल अझ काम गर्नुपर्ने देखिएको उनीहरूको भनाइ छ ।–बीबीसी
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार