इन्डोनेशियाको बालीस्थित पवित्र पर्वतमा रुसी पर्यटकले निर्वस्त्र तस्बिर खिचे

बिहीबार, चैत १६, २०७९

इन्डोनेशिया । बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै देशनिकाला गर्न लागेको छ । आफ्नो सुरुवाल गोलीगाँठासम्म झारेर पवित्र अगुङ पर्वतमा उनले खिचाएको तस्बिर गत साता भाइरल भएको थियो ।
युरी नाम गरेका ती व्यक्तिले आफ्नो कार्यप्रति क्षमायाचना गरेका छन् । तर उनलाई छ महिनासम्म इन्डोनेशिया प्रवेश गर्न प्रतिबन्ध लगाइने भएको छ । बालीले हालैका वर्षहरूमा विदेशी पर्यटकहरूले गर्ने खराब आचरणविरुद्ध कडाइ गर्न थालेको छ ।
अगुङ पर्वत बालीद्वीपको सबैभन्दा अग्लो स्थान हो । हिन्दू धर्मावलम्बीहरू यो पर्वतमा देवताहरूको वास भएको विश्वास गर्छन् । एक स्थानीय अधिकारीले ती पर्यटकको आचरण 'अक्षम्य' भएको बताए ।

https://ichef.bbci.co.uk/news/800/cpsprodpb/3c0f/live/087cdeb0-cebf-11ed-be2e-754a65c11505.jpg.webp

“उनले मूल्य र मान्यताहरू उल्लङ्घन गरेका छन् र हाम्रो संस्कृतिप्रति कुनै सम्मान देखाएका छैनन्,” बालीस्थित कानुन र मानव अधिकार कार्यालयका प्रमुख एन्गिया नापिटुपुलुलले जाकार्ता पोस्टसँग भने।

अपवित्र भएको पर्वत 'चोख्याउन' अनुष्ठान
रुसी भाषामा राखिएको भिडिओमा युरीले भनेका छन्, ''मेरो गतिविधि क्षमायोग्य थिएन । जे भयो त्यो मेरो व्यक्तिगत लापरबाहीका कारण भएको हो ।”
पछि उनी उक्त पर्वतलाई 'चोख्याउन' स्थानीयवासीहरूले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए । उक्त पर्वतमा त्यस्तो गतिविधि भएपछि शुद्धीकरणका लागि त्यस्तो अनुष्ठान आयोजना गर्ने गरेका छन् ।

बालीस्थित रुसका मानार्थ वाणिज्यदूत विजयले सीएनएन इन्डोनेशियासँग ती पर्यटक “बहुलट्ठी” भएको र उनलाई निष्कासन गर्ने निर्णय उचित भएको प्रतिक्रिया दिएका छन् । कैयौँ स्थानीयवासीले पनि उनलाई निष्कासन गर्ने निर्णयको समर्थन गरेका छन् ।

https://ichef.bbci.co.uk/news/682/cpsprodpb/aae7/live/d7482ba0-cebf-11ed-854d-bb282fdcd8fa.jpg.webp

कामुक क्रियाकलाप पनि
बालीका बासिन्दाहरूले अगुङलाई पवित्र पर्वत मान्ने गरेका छन् । इन्डोनेशियामा यस्तो घटना भएको यो पहिलो पटक चाहिँ होइन ।
मध्यबालीको बतुर पर्वतमा निर्वस्त्र नाच्दै गरेको भिडिओ सार्वजनिक गरेपछि गत वर्ष क्यानडाली अभिनेता जेफ्री क्रेगनलाई पनि इन्डोनेशियाबाट निष्कासन गरिएको थियो ।
त्यसअघि सन् २०२१ मा रुसी जोडीले बतुर पर्वतमै यौन क्रियाकलाप गरिरहेको तीन मिनेट लामो भिडिओ बाहिरिएपछि ठूलो आक्रोश पैदा भएको थियो ।
मङ्गलवार एक वरिष्ठ उच्च अध्यागमन अधिकारीलाई गैरकानुनी गतिविधिमा संलग्न विदेशी नागरिकहरूलाई कारबाही गर्न निर्देशन दिइएको जाकार्ता पोस्टले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घनका कैयौँ घटनाहरू देखिएको भन्दै यहाँको प्रशासनले बाली क्षेत्रमा विदेशी पर्यटकहरूलाई मोटरसाइकल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि सारेका छन् ।

कडाइ
बालीका गभर्नर आई वायन कोस्टरले रुस र युक्रेनका पर्यटकहरूलाई दिइँदै आएको अन-अराइभल भिसाको सुविधा खारेज गर्ने योजना अघि सारेका छन् ।
दुई देशबीच जारी युद्धबीच “बालीमा ओइरिएका” दुवै देशका पर्यटकहरूले प्रायः स्थानीय नियम नमान्ने गरेको आरोप छ ।
बालीको प्रान्तीय प्रशासनले यो टापुका पर्वतहरूमा जाने पर्यटकहरू समेत कम गर्ने प्रयास गरिरहेको छ। उनीहरूले अत्यधिक पर्यटक भएको भन्दै यस्तो योजना अघि सारेका छन् ।-बीबीसी 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार