Chhath Banner
Chhath Banner

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुको तयारी

आइतबार, कात्तिक २९, २०८३

इनरुवा । प्रकृति र आस्थाको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न व्रतालु तथा भक्तजन यसको तयारीमा जुटेका छन् ।  सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा हर्ष तथा उल्लासका साथ मनाइने प्रकृति र आस्थाको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नका लागि व्रतालु तथा भक्तजन यसको तयारीमा जुटेका हुन् । चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको तेस्रो दिन आज साँझ व्रतालु जिल्लाका विभिन्न स्थानको जलाशय, नदी, पोखरी तथा नहर किनारमा निर्माण गरेको पूजा स्थलमा पूजा सामग्री सहित गएर स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।  छठ पर्व मनाउने पूजा स्थललाई सिंगारनका लागि बिहानै देखि भक्तजनहरू सक्रिय भएको स्थानीय अजय देवले बताए । छठ पर्व मनाउने पूजा स्थललाई बेहुली झैँ सिंगारनका लागि भक्तजनहरू सक्रिय भएको स्थानीयवासीले बताएका छन् । जिल्लाको शंकरपुर शाखा नहर, सुनसरी खोला, बुढी, खोला, इटहरीको टयाङग्रा खोला, रामधुनीको नहर, कोसी ब्यारेज, कोसी कटान लगायतका स्थानमा निर्माण गरेको पूजा स्थललाई सजाउनका लागि बिहानै देखि भक्तजनहरू सक्रिय भएका हुन् ।   पर्वलाई मध्यनजर गर्दै इनरुवा लगायत विभिन्न स्थानका बजारमा बिहानै देखि छठ पूजाका लागि आवश्यक पर्ने माटोका भाँडाकुँडा, फलफूल, उखु, नरिवल, हल्दीका बोट, लगायत पूजाका सामग्री खरिद गर्नेको उल्लेख्य चहलपहल बढेको छ भने यसका लागि आवश्यक पर्ने विभिन्न परिकारका पकवान तथा पूजा सामग्री बनाउनका लागि व्यस्त भएको स्थानीय रेखा देवी झाले बताइन् । छठका व्रतालु तथा परिवारका सदस्य पूजा सामग्रीको व्यवस्थापनसँगै छठका लागि विशेष मानिने ठेकुवा, भुसुवा लगायतका परम्परागत प्रसादी तयार पार्न व्यस्त देखिएको स्थानीय चन्दन मेहताले बताए । व्रतालुले यस पर्वमा शुद्धता र विधिलाई विशेष ध्यान दिने गरेका छन् । परिवारको सुख, शान्ति, समृद्धि, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्दै मनाइने छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र पारिवारिक एकतालाई समेत सुदृढ गर्दै आएको विश्वास गरिन्छ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भोलि बिहान अर्थात् सोमबार उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन हुनेछ । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार