सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयनमा समावेश गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका दुई खेलाडी फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयनमा समावेश गरेको आइसीसीले जनाएको छ । वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उनको ठूलो योगदान रहेको थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अद्र्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाएका थिए । उनले सो प्रतियोगिताभर पाँच अद्र्धशतकसहित सर्वाधिक २७८ रन बनाएका थिए । भुर्तेल प्लेअर अफ दि सिरिज घोषित भएका थिए । उनले नेदरल्याण्डस्विरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डस्विरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डस्सितको फाइनल खेलमा ७७ रन बनाएका थिए । सिरिजमा गरेको प्रदर्शनका आधारमा उनी पहिलो पटक आइसीसीको टी–२० बरियतामा ९३ औँ स्थानमा पर्न सफल भएका थिए । आइसीसीले जारी गरेको अर्को बरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लिएका थिए । यसैगरी पुरस्कारका लागि मनोनित पाकिस्तानका फखर जमानले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए । सो क्रममा उनले दुई शतकसमेत बनाएका थिए । मनोनयनमा परेका अर्का पाकिस्तानी खेलाडी बाबर आजमले दक्षिण अफ्रीकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाएका थिए । पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ ।