बाहुनपोखरादेखि शीतलनिवाससम्म रामचन्द्र पौडेलको यस्तो रह्यो यात्रा

खुसी छन् तनहुँवासी
शुक्रबार, फागुन २६, २०७९

काठमाडौं । आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए । लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सकेनन् । पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री भइसकेका नेता हुन् ।
पिता दुर्गाप्रसादमा पनि राजनीतिक चेतना भएका कारण पौडेलको झुकाव सानैबाट राजनीतितिर बढेको उनका बालसखाहरु स्मरण गर्छन् ।   राजनीतिज्ञका रूपमा रामचन्द्रको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनी चिनिन्छन् ।

202303091852-28ff66c5-afd3-4e23-94ec-cef4722ab8da_medium1678376484.jpgउतारचढावपूर्ण राजनीति
गत असोजबाट ७८ वर्ष पूरा भएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढावपूर्ण रहेको उनी निकटहरू बताउँछन् । पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन् । तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाडौं आएका थिए । पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको उनी निकटहरू बताउँछन् । तर उनी कम्युनिस्ट राजनीतिमा आबद्ध चाहिँ भएनन् ।
“पोखरामा त्यस बेला कम्युनिस्टहरूको प्रभाव थियो। त्यसको प्रभाव उहाँमा भए पनि कम्युनिस्ट नै भएको चाहिँ होइन,” पूर्वसांसद अमरराज कैनी भन्छन् । संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन् । पौडेल यसअघि कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बने पनि १७ पटकसम्म मतदान हुँदा पनि पराजित भएका थिए । तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा पुगेका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।

KN_DAMAULI1678403515.jpg
व्यास–८ रिस्तीको सामान्य किसान परिवारमा जन्मेका पौडेलले राष्ट्राध्यक्षका रूपमा देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन व्यास–३ का प्रा डा कृष्णप्रसाद गौतमले पौडेलजस्तो विचारले निखारिएको, सरल र विवादरहित व्यक्तित्वलाई राष्ट्रपतिका रूपमा पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिए । “रामचन्द्र पौडेल धेरै खारिएका नेता हुनुहुन्छ, प्रजातन्त्र स्थापनाका लागि उहाँले लामो सङ्घर्ष गर्नुभयो, जेल जीवन बिताउनुभयो, उहाँ निर्वाचित हुँदा राष्ट्रपति पदको गरिमा अझ बढेर गएको छ”, प्रा डा गौतमले भने । उनले नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रहित र लोककल्याणकारी काममा आफूलाई समर्पित गर्नेमा विश्वास व्यक्त गरे । तनहुँ–२ का पूर्वसांसद केदार सिग्देलले राष्ट्रपतिले साझा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिन्छन् । “नवनिर्वाचित राष्ट्रपति तनहुँबाटै राजनीतिमा स्थापित हुनुभएको हो, उहाँ हाम्रो अग्रज पनि हो, जिल्लावासीका रूपमा हामी सबैका लागि यो गर्वको विषय हो”, उनले भने ।

RS_KTM_20230309_RATL64301678375513.jpg
नवनिर्वाचित राष्ट्रपति पौडेलका छिमेकी व्यास–२ अमरापुरी निवासी सावित्री अधिकारीले आफूले मत दिएर पठाएको व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा खुसी लागेको बताइन् । “घर आउँदा सन्चोबिसन्चो सोधिराख्नुहुन्थ्यो, आज उहाँ राष्ट्रपति भएको थाहा पाउँदा धेरै खुसी लागेको छ”, अधिकारीले भनिन्, “देश र जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ ।”
पौडेलको जन्मगाउँ व्यास–८ रिस्तीका वडाध्यक्ष युवराज गुरुङले पौडेल राष्ट्रपति निर्वाचित हुँदा वडावासीमा खुसीयाली छाएको प्रतिक्रिया दिए । नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राष्ट्रलाई एकताबद्ध गर्न र संविधानको रक्षार्थ राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपतिका गाउँलेमा खुसियाली
राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि उनको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएपछि रिस्तीवासीले आपसमा बधाई साटासाट गरेर खुसियाली मनाएका हुन् । “यस्तो खुसी मनाउने अवसर हामी रिस्तीवासीले अब कहिले पाइएला ?” रिस्तीका रामप्रसाद मिश्रले भने, “त्यसैले अब यो मौकामा आपसमा बधाई साटासाट गरेर मनाएका हौँ । रिस्तीमा जन्मिएका व्यक्ति मुलुककै अभिभावक हुँदा खुसीयाली नहुने कुरै भएन ।” राष्ट्रपति पौडेलकै प्रेरणाबाट आफू पनि राजनीतिमा होमिएको मिश्रले बताए ।
राष्ट्रपति पौडेललाई स्थानीयले निष्ठावान्, त्यागी र आदर्शवादी नेताको रुपमा बुझ्ने गर्छन् ।

pro_ktm_pm_presidentwelcome1678375510.jpg
राष्ट्रपति पौडेललाई प्रत्यक्ष भेटेर बधाई दिन रिस्तीका स्थानीय नेता तथा अगुवा काठमाडौँ पुगी सकेका छन् । “यसै गाउँले जन्माएको त्यागी नेता राष्ट्रपति हुँदा पालिकावासी सबै खुसी छौँ”, बधाई दिन काठमाडौँ पुगेका भएका व्यास नगरपालिका–८ का वडाध्यक्ष युवराज गुरुङले भने, “यसअघि हामीलाई यस्तो खुसी मनाउने मौका कहिल्यै मिलेको थिएन ।” पञ्चायती व्यवस्थाको विरोधमा लाग्दा तत्कालीन प्रशासनबाट बचाउन आफूले राष्ट्रपति पौडेललाई लुकाएर खाना खुवाएको सम्झना ताजै छ पौडेलकी भाउजु नानीमायाको । जनता र मुलुकको समृद्धिको लागि पटकपटक जेल परेका देवरको ढिला भए पनि योगदानको कदर भएकोमा गर्व लागेको उनले बताइन् ।
“सङ्घर्षको बेला देवर बाबुले जनता र मुलुकको लागि मर्नसमेत डराउनुहुँदैन भनेर भन्नुहुन्थ्यो”, नानीमायाले भनिन्, “अहिले यस्तो खुसीको दिनपनि देख्न पाइयो ।”

राष्ट्रपति पौडेलको जीवनी

विसं २००१ मा तनहुँको रिस्तीमा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका हुन् । नेपाली कांग्रेसद्वारा सञ्चालित विसं २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए ।
पौडेल विसं २०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए ।
विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए ।
विसं २०४० मा पौडेल नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बनेका थिए । विसं २०४४ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा रहँदै आएका छन् । पौडेल २०४८ मा तनहुँ–१ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसको छन् । उनले सभामुखको जिम्मेवारी पनि निभाएका थिए ।

pro_ktm_pm_president1(1)1678375507.jpg
तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि बनेका थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् ।
पौडेल गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी यसअघि विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० को आम चुनावमा पनि तनहुँबाटै निर्वाचित भएका थिए ।

RS_KTM_20230309_RATL64261678375510.jpg

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार