अपराधमा साना साना क्लुले पनि दिन्छन् महत्वपूर्ण ‘सुराक’

जलिरहेको कारसँगै भेटिएको चप्पलले खोल्यो सरोज हत्याको पोल

सोमबार, कात्तिक १७, २०८२

काठमाडौँ । साना–ठूला अपराधका घटनामा साना साना क्लुले पनि महत्वपूर्ण सुराक दिने गर्छन् । यस्तै सानो सुराले झामा हालै भएको हत्याकाण्डको सानो सुराकले अपराधीसम्म पुग्न मद्दत गरेको छ ।  झापाका ३३ वर्षीय सरोज शर्माको अपहरणपछि भएको हत्यामा उनकै साथीहरुको संलग्नता देखिएको छ । विलासी जीवनशैलीका कारण लोभिएका उनीहरुले फिरौती असुली गर्ने उद्देश्यले अपहरणपछि ९ कात्तिकमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । अनुसन्धान अधिकृतहरुका अनुसार, जलिरहेको कारसँगै भेटिएको एउटा चप्पललाई पछ्याउँदै जाँदा अपहरणपछि हत्यामा संलग्न गिरोह समातिएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, अपहरण र हत्यामा संलग्न भएको आरोपमा शर्माका साथी शिवसताक्षी–१० का २७ वर्षीय सुनिल शाह र २३ वर्षीय राहुल शाह पक्राउ परेका छन् । थप एक जना फरार छन् । ‘जोगबनी नाका हुँदै भारततिर भाग्न लागेको अवस्थामा उनी पक्राउ परेका हुन्,’ कार्कीले भने । काठमाडौं बस्दै आएका शर्मा झापास्थित घर भएका बेला ९ कात्तिकदेखि सम्पर्कविहीन भएका थिए । लगत्तै परिवारले खोजतलासका लागि प्रहरीलाई निवेदन दिएको थियो । चार दिनपछि राति साढे १० बजे उनी सवार बा प्र ०१ ३० च ७१९४ नम्बरको कार मेचीनगरपालिका–१३ मा रहेको निचाझोडा सिमसार जंगल क्षेत्रमा गाडी जलिरहेको भन्दै प्रहरीलाई खबर आएको थियो ।
‘घटनास्थलमा एउटा चप्पल र मास्क भेटियो, त्यसबारे खोज्दै जाँदा चप्पल सुनिलको भएको भेटियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घरबाट साथीलाई भेट्न भन्दै गएका बेला आफ्नो फोन नलागे अर्को ह्वासट्पएपमा सम्पर्क गर्नु भनेर समेत सरोजले सुनिलको नम्बर दिएका थिए ।’ उक्त नम्बरलाई समेत ट्रेस गरिरहेका बेला उनको चप्पल घटनास्थलमा भेटिएपछि अनुसन्धान साँघुरिएको ती अधिकृत बताउँछन् । त्यसपछि परिचालित टोलीले उनलाई १४ कात्तिकमा पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले सुनिलको शवलाई झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गमा पर्ने पुलमुनि गाडिएको फेला पार्यो । ‘सीमावर्ती क्षेत्र भएकाले भारततिर पुर्याउने योजना समेत उनीहरुको भएको हुनसक्छ,’ डीआईजी कार्की भन्छन्, ‘ठूलो पानी आउँदा बगाएर उतै लैजानसक्छ भनेर पनि हुनसक्छ, खाल्डो समेत गहिरो थिएन ।’
प्रहरीका अनुसार, पक्राउ परेकाहरुले सरोजलाई सस्तोमा सुन विक्री गर्ने भन्दै बोलाएको खुलेको छ । ‘सरोजको जीवनशैली एकदमै विलासी थियो, उनले सुनिल र राहुललाई बेलाबेला १०–२० हजार पैसा पनि दिइरहँदा रहेछन्, त्यसैले अपहरण गरेर असुली गर्ने योजना बनेको रहेछ,’ अनुसन्धानमा संलग्न झापा प्रहरीका एक अधिकृतले भने, ‘पछिल्लो समय चाहिँ लुटेको सुन आफूसँग भएको र सस्तोमा दिने भन्दै बोलाएको देखिन्छ ।’
दसैंमा घर आउँदै उनले आफूसँग ७५ लाख रुपैयाँ रहेको परिवारसँग सरसापट गरेर थप पैसा भेला पारेर सुन किन्ने बताएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । तर, सरोज र राहुलसँग उनलाई भनेजस्तो सुन थिएन । बरु उनीहरुले दहीझोडा सामुदायिक वनमा सुन लुकाएको देखाउन खाल्डो खनेर केही पुरेका थिए । ‘सरोजलाई सुन देखाउन भन्दै जंगलतिर लैजाने, बेहोस बनाउने र अपहरण गरी भारत लगेर फिरौती माग्ने योजना रहेछ,’ ती अधिकृतले भने, ‘तर, सरोज होसमा आएर चिच्याउन र प्रतिकार गर्न थालेपछि योजना तुहिएको रहेछ ।’
उनी कराउन थालेपछि राहुलले आफूसँग लगेको ह्याम्मरले टाउकोमा पटक–पटक प्रहार गरेर हत्या गरेको पाइएको झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्का बताउँछन् । प्रहरीले शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने पक्राउ परेका दुई जनाविरुद्ध अपहरण, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव, शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु भएको छ ।

पहिलो भेट र योजना
काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो । शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए । यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ । 

सुन देखाउने बहानामा अपहरण
गत कात्तिक ९ गते सुनिलले सरोज शर्मालाई फोन गरी भारतबाट ल्याएको सुन देखाउने बहानामा बोलाए । त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ अन्तर्गत दहिझोडा सामुदायिक वनतर्फ गए । प्रहरीका अनुसार यही ठाउँमा तीनैजना पुगेपछि सुन देखाउने बहानामा विवाद भएको र त्यही बेला सुनिल र राहुलले योजनाबद्ध रूपमा शर्मामाथि हमला गरेका थिए ।

हत्याको क्रूर मोड
प्रहरी अनुसन्धानअनुसार, उनीहरूले हातमा रहेको हथौडाले सरोजको टाउकोमा प्रहार गरी हत्या गरे । त्यसपछि शवलाई लुकाउनका लागि उनीहरूले शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडीमा राखेर झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीको अनुमान छ । 

शव लुकाउने र गाडी जलाउने प्रयास
हत्या लुकाउनका लागि अपराधीहरूले शर्माको गाडी मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा लगेर जलाएका थिए । प्रहरीले जनाएको अनुसार, उनीहरूले हत्या भएको पाँच दिनपछि अर्थात् कात्तिक १३ गते राति गाडी जलाएका थिए ।

शर्मा हराएपछि खोजतलास
कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोज शर्माबारे परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले कात्तिक १३ गते शर्माको गाडी जलिरहेको अवस्थामा फेला पार्‍यो । त्यसपछि प्रहरीले सो क्षेत्र र सम्भावित ठेगानामा खोजी विस्तार गरेको थियो । 

शव फेला र घटनाको खुलासा
अन्ततः कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शर्माको शव फेला पर्यो । त्यसपछि प्रहरीले शकको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लियो । प्रारम्भिक सोधपुछका क्रममा दुवैले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ र थप अनुसन्धान
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, घटनामा संलग्न अर्का एकजना भारतीय नागरिक अझै फरार छन् र उनको खोजी भइरहेको छ । पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार