सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका काँग्रेस नेता रामचन्द्र पौडेललाई दलका शीर्ष नेताहरुले बधाई दिएका छन् । निर्वाचन परिणाम घोषणा भए लगत्तै संसद भवन परिसरमा दलका शीर्ष नेताहरुले पौडेललाई बधाई दिएका हुन् । आज भएको मतदानमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भए । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
मतदानमा सङ्घको एक र प्रदेशको चार मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।
पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । यसैगरी उनका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेका थिए । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका छन् । मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको थियो । पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी तथा रास्वपाले मत दिएको थियो । अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको मात्रै मत पाए ।
राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्न माधव नेपालकाे सुझाव नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताए । सङ्घीय संसद् भवनमा पौडेललाई बधाई दिन पुगेका बेला पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रपतिले संविधानले दिएको दायराभित्र बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै आजसम्मको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायतका उपलब्धिको रक्षा गर्ने काममा जुट्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिबाट संविधानको रक्षा गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएर मुलुकमा स्थायी शान्ति कायम गर्दै त्यसको आधारमा मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । उपसभापति खड्काले लामो राजनीतिक जीवन बिताएका पौडेल राष्ट्रपतिमा चुनिएको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
मेरो सहयोग र समर्थन रहन्छ : नेम्वाङ राष्ट्रपति पदका प्रतिस्पर्धी एमालेका उपाध्यक्ष नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । पूर्वसभामुख नेम्वाङले भने, “घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।”
जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए । उनले भने, “मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।” जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गरेका छन् । उनले भने, “सविधान र लोकतन्त्र रक्षा तथा जनभावनाअनुसार सबैको साझा र एकताको प्रतीकको प्रवर्द्धन गर्ने कार्यमा नयाँ राष्ट्रपतिको भूमिका र जिम्मेवारी केन्द्रित हुनुपर्छ ।
नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे । उनले भने, “नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।”