सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने निर्वाचन आयोगको तयारी छ । मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मत दिएको छ । अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता हुन् ।
५३ जनाले हालेनन् भोट राष्ट्रपति निर्वाचनमा ८३१ मत मात्रै खसेको छ । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो । राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहे । बिरामी भएर चन्द्र भण्डारी र बर्षमान पुन पनि निर्वाचनमा सहभागी भएनन् । यस्तै, एक जना निलम्बित, एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन् । रवि लामिछाने पदमुक्त भएपछि एक पद रिक्त छ भने अर्को एक सांसदको मृत्यु भएको छ । प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरे । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।