सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मुलुकले भोलि साँझ नै नयाँ राष्ट्रपति पाउने छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान सकिए लगत्तै मतगणना कार्य सुरु गरी साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरेको छ । मतगणनाका लागि पर्याप्त सुरक्षा व्यवस्थाका गरिएको छ । राष्ट्रपति चयनका लागि भोलि बिहीबार निर्वाचन हुँदै छ । राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिने छन् ।