‘सन्दीप लामिछाने विदेश जान पाउने, पन्ध्र दिनभन्दा बढी बस्न नपाउन’

सोमबार, फागुन १५, २०७९

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सशर्त विदेश जान दिने अनुमति दिएको छ । लामिछाने १५ दिनभित्र स्वदेश फर्किएर अदालतमा हाजिर हुनुपर्ने शर्त राखिएको छ ।
‘विदेश जान अनुमति दिने आदेश भएको छ । तर १५ दिनभित्र फर्किएर सम्बन्धित अदालतमा हाजिर हुनुपर्ने सर्त राखिएको छ’, अनुमतिमा भनिएको छ ।  न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई पनि सदर गरेको छ ।
लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग–२ शृङ्खलामा खेल्न जानका लागि गत बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यूएईमा सोमवारबाट आईसीसी विश्वकप लीग–२ शृङ्खला सुरु भएको छ ।
अदालतले लामिछानेलाई यूएई जान अनुमति मागिएको निवेदन र धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन दुवैलाई सँगै राखेर सुनुवाइ गरेको थियो ।
तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो ।
अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको नाम समावेश नगर्ने निर्णय लिएको थियो ।
यसअघि अघिल्लो साता काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप लीग–२ शृङ्खलामा चारवटा खेलमा लामिछानेले १३ विकेट लिएका थिए ।
क्रिकेटर लामिछानेले बिहीवार मात्र आफू यूएईमा हुने शृङ्खलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए ।

प्रतिबन्ध हटाउने माग
टोलीको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनलाई आफ्नो जिम्मेवारीमा यूएई पुर्‍याएर ल्याउने भन्दै नेपाल क्रिकेट सङ्घले समेत अग्रसरता लिएको थियो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका बेला एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो । तर गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो ।
न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई तारेखमा छोड्ने आदेश दिँदा उल्लेख गरिएका थुप्रै बुँदाहरूमध्ये एउटामा लामिछानेलाई मुद्दाको छिनोफानो नभएसम्म विदेश जान रोक लगाइएको थियो । लामिछाने उक्त प्रतिबन्धात्मक बुँदा हटाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका हुन् । लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाण्डू उपत्यका छाड्नुपरेको खण्डमा समेत बाहिरिने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो ।

घटना के हो
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाडौंको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए । आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए । प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो । त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्ट्याटस लेख्दै आफूलाई फसाइएको र त्यस विरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए । लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए । उनी पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए । उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्गलादेश र पाकिस्तानका लीगमा खेलेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार