सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारबाट बाहिरिने निर्णय गरेको सत्ताको प्रमुख घटक नेकपा एमालेका मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउने भएका छन् । आज बसेको नेकपा एमाले सचिवालय बैठकले प्रचण्ड सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिने निर्णयसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
एमालेका मन्त्रीले राजीनामा दिने भएपिछ प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन् । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । एमालेको संसदमा ७८ सांसद छन् । आइतबार राप्रपाले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने सरकारमा एमालेका तर्फबाट नेतृत्व गरेका विष्णु पौडेलले जानकारी दिए । आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएर सरकारबाट बाहिरिने निर्णय लिएको हो । प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताएकी थिइन् । यसअघि सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नसुध्रिएको टिप्पणी गरेका थिए । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले सुध्रिएका हुन् कि भनेर विगतका सबै कुरा बिर्सेर सहकार्य गरेपनि त्यस्तो नदेखिएको बताएका हुन्। ‘हामीमाथि अपमान गर्ने काम भयो, कोलिसनको सरकारमा रहेका प्रधानमन्त्री प्रचण्डले अपमान गरे,’ बैठकमा अध्यक्षको भनाई उधृत गर्दै एक नेताले भने, ‘उनको स्थिति बदलिएको भन्ने सोचेका थियौं, अझै व्यवहार परिवर्तन भएको रहेनछ। अब यही अपमान सहेर सरकारमा बस्न सकिएन।’