सांसदलाई २३ फागुन भित्र काठमाडौं बोलाउने ८ दलीय गठबन्धको निर्णय

आइतबार, फागुन १४, २०७९

काठमाडौं । ८ दलीय गठबन्धनको आइतबारको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई २३ फागुन भित्र काठमाडौँ आउन निर्देशन दिएको छ । राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निर्णय भएको हो ।
त्यसै गरी बैठकले ८ दलका १–१ जना प्रतिनिधि रहने गरी कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय पनि गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँका अनुसार कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।
बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । ती कार्यक्रममा गठबन्धन दलका नेताहरू सहभागी हुनेछन् ।
बैठकले संघ तथा प्रदेशसभाका सांसदहरूलाई फागुन २३ गतेसम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाडौँमा ब्रिफिङ गरिने र रामचन्द्र पौडेललाई मत दिन भनिने छ ।
ब्रिफिङमा सांसदहरूलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा छरिएको अस्थिरताबारेको भ्रम हटाउन प्रयास गर्ने गठबन्धनले पहल गर्नेछ । साथै बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार